काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले खनाल–नेपाल समूहले पार्टी विभाजन गरे सो कार्यमा आफूले साथ दिने बताएका छन् ।
गौतमले एमालेमै भएर समानान्तर गतिविधि गर्ने, कमिटी बनाउनेजस्ता काममा भने आफूले साथ नदिने बताउँदै भने, “वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेता कमरेडहरुले नेकपा एमालेमै भएर समानान्तर गतिविधि गर्ने, कमिटी बनाउनेजस्ता काममा मेरो सहमति छैन, तर यदि उहाँहरुले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु।”
नेकपा एमाले एकता राष्ट्रिय अभियानका संयोजक समेत रहेका गौतमले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई २०७५ को जेठ २ गतेमा फर्किनु पर्ने बताएपछि अध्यक्ष ओली त्यो पक्षमा नरहेको बताएका छन् ।
२०७५ को जेठ २ गतेको अवस्थामा फर्कन नमानेकाले आफूले ओलीलाई साथ दिन नसक्ने गौतमले बताएको उनको सचिवालयले जनाएको छ ।