काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले विभिन्न सञ्चार माध्यमले चर्चा गरे जस्तो आज प्रधानमन्त्रीले राजीनामा नगर्ने बताएका छन् ।
“विभिन्न सञ्चार माध्यममा प्रधानमन्त्रीले राजीनामा गर्नुहुन्छ भनेर लेखेको देख्छु तर यो गलत सावित हुन्छ,” नेम्वाङले भने, “बहुमत प्राप्त भए पनि संविधान बमोजिम अगाडि बढ्नुहुन्छ । बहुमत प्राप्त भएन भने पनि प्रधानमन्त्री संविधान बमोजिम अगाडि बढ्नुहुन्छ ।”
संसदमा आज बहुमत प्राप्त नहुँदा दुई वा सो भन्दा बढी दलको सरकार बन्ने प्रक्रिया अघि बढ्छ । त्यस्तो अवस्था नदेखिएकाले ठूलो पार्टीको अध्यक्षको हैसियतले केपी शर्मा ओलीलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने तयारी छ ।
“विश्वासको मत प्राप्त नभए पनि उहाँले राजीनामा गर्नुहुन्न । राजीनामा गर्नुपर्ने संविधानमा व्यवस्था छैन,” नेम्वाङले भने, ‘विश्वासको मत प्राप्त भएन भने प्रधानमन्त्रीको पद रिक्त हुन्छ । अर्को प्रधानमन्त्री नआएसम्म त्यही प्रधानमन्त्रीले सरकारको काम गर्नुहुन्छ भन्ने व्यवस्था छ संविधानमा । त्यसै अनुसार प्रधानमन्त्री अगाडि बढ्नुहुन्छ ।”