काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री केपी ओली विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने र अरु दललाई पनि मत नदिन आग्रह गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए । प्रधानमन्त्री ओलीले विश्वासको मत देखाउन आगामी वैशाख २७ गते संसद्को विशेष अधिवेशन बोलाइएको छ ।
त्यस्तै बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको यसअघिको निर्णय अनुमोदन गरेको छ ।
प्रधानमन्त्री ओली प्रशासनिक, राजनैतिक र संवैधानिक हिसावले असफल भएको भन्दै कांग्रेसले यसअघि नै प्रधानमन्त्रीको राजीनामाका साथै आफ्नै नेतृत्वमा वैकल्पिक सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो ।
त्यस्तै वर्तमान सरकारले संवैधानिक परिषद्को कार्यक्षेत्रलाई संकुक्षित गर्ने गरि संविधानको मर्यादाविपरीत ल्याएको अध्यादेशको विरोध गर्दै बैठकले सरकारले संवैधानिक व्यवस्थामाथि प्रहार गरेको निष्कर्ष निकालेको छ भने संवैधानिक परिषद्को बैठकमा काग्रेस सहभागी नहुने निर्णय पनि गरेको खाँणले बताए ।
बैठकले राष्ट्रपतिले शितल निवासलाई पार्टीको कार्यालय जस्तो बनाएको र दल सञ्चालन तथा व्यस्थापनमा राष्ट्रपति सहभागी हुनु उचित नभएको भन्दै दलको कार्यकर्ता जस्तो भूमिकामा नरहन आग्रह पनि गरेको छ ।
बैठकले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि प्रभावकारी भूमिका निर्वाह गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको प्रमुख सचेतक खाँणले जानकारी दिए ।
बैठकमा कांग्रेस सभापति शेर बहादुर देउवाले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिशोध साध्ने संस्था बनाएको आरोप लगाए । त्यस्तै देउवाले मनपरी ढंगले अध्यादेश ल्याएर आफ्ना मान्छे नियुक्त गरि विपक्षीप्रति प्रतिशोध साध्ने मनसायका साथ सरकार अघि बढेको समेत धारणा राखे ।