सरकार र जनता हातमालो गरेर कोरोनाविरुद्धको लडाइँ सफल पार्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल

333

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकार र जनताबीच हातेमालो गरेर कोरोनाविरुद्धको लडाइँ सफल पार्नुपर्ने बताएका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले सिंहदरबारमा सञ्चारकर्मीसँग संवाद गर्दै सरकारको एकल प्रयासले मात्र कोरोनाविरुद्धको लडाइँ सफल नहुने भएकाले सरकार र नागरिकबीच हातेमालोको जरुरी रहेको बताए । “म नागरिकहरुलाई अपिल गर्न चाहन्छु, सिंगो मानव समुदाय अहिले कोरोनाविरुद्ध लडिरेको छ । त्यसैले यो हामी सबैको साझा समस्या हो, यसलाई समाधान गर्न सरकार र नागरिक हातेमालो गरेर अगाडि बढ्नुपर्छ । हामी आफैँ जबाफदेही र जबाफदेही भएर अगाडि बढ्न जरुरी छ,” उनले भने ।

सरकारले वैशाख १३ गतेको मन्त्रिपरिषद्को निर्णयबाट नयाँ भेरियन्टसहितको कोभिड– १९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रण सम्बन्धी आदेश २०७८ जारी गरेको जानकारी दिँदै उनले राज्यका तर्फबाट अभिभावकीय भूमिका र जिम्मेवारी सोचेर यो निर्णय गरिएको बताए । “कोभिडको जुन लहर छ यसलाई फैलन नदिने मुख्य कुरा हो । यसलाई राज्यको मात्र काम हो भनेर चित्रित गरिनुहुन्न,” उपप्रधानमन्त्री पोखरेलले भने, “आम नागरिकको स्वास्थ्य र जीवन रक्षाका लागि आवश्यक सम्पूर्ण प्रबन्ध गरेका छौं । जनता पनि हाम्रो आफ्नै जीवनका लागि हो भनेर सचेत हुन जरुरी छ । जनताको साथ र सहयोग भएन भने यो गम्भीर समस्या समाधान गर्न कठिन छ ।”

उपप्रधानमन्त्री पोखरेलले संकटमा परेकालाई सरकारले अस्पताल र उपचारका लागि चाहिने सामाग्री लगायत सम्पूर्ण प्रबन्ध गरेको जानकारी दिए । यसअघि स्थापित कोरोना विशेष अस्पताललाई थप व्यवस्थित बनाउने काम भइरहेको उनले बताए ।

१८ लाखभन्दा बढीलाई कोरोनाको खोप लगाइसकेको जानकारी दिँदै उनले खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयले प्रक्रिया अगाडि बढाइसकेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...