गेटा मेडिकल कलेजलाई कोरोना उपचार केन्द्र बनाइने

495

कैलाली । कैलालीको गोदावरी नगरपालिका–५ मा निर्माणधिन गेटा मेडिकल कलेजलाई तत्कालका लागि कोरोना उपचार केन्द्र बनाइने भएको छ ।

सुदूरपश्चिम प्रदेशमा कोरोनाको दोस्रो लहर तीव्र गतिमा बढेपछि कोरोना संक्रमितहरुको उपचारका लागि गेटा मेडिकल कलेजलाई कोरोना उपचार केन्द्र बनाइने भएको हो ।

संघिय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको पहलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री र स्वास्थ्य तथा जनसंख्या मन्त्रीसँगको छलफलमा संघीय सरकार मातहत रहने गरी तत्कालै उपचार केन्द्रका रूपमा सञ्चालन गर्ने निर्णय गरिएको हो ।

तत्काल सञ्चालमा ल्याइने उक्त उपचार केन्द्र आगामी हप्ता नै कैलालीका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको जिम्मा लगाइने भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशमा आवश्यक पर्ने स्वास्थ्य जनशक्ति उपलब्ध गराउने सम्बन्धी पनि मन्त्री भट्ट र स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीबीच छलफल भएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ ।

धनगढीमा ५५ शय्याको अस्थायी कोरोना अस्पतालमा अहिले ५७ जनाको उपचार भइरहेको छ । यस बेला गेटा मेडिकल कलेजलाई कोरोना उपचार केन्द्र बनाइने भएपछि सहज हुने अपेक्षा गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...