काठमाडौं । १४औँ इन्डियन्स प्रिमियर लिग(आइपिएल) टी–२० क्रिकेट अन्तर्गत रोयल च्यालेञ्जर्स बैंगलोरको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।
आजको खेलमा चेन्नइ सुपर किङ्सले बैंगलोरलाई ६९ रनले पराजित गर्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
१ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको बैंगलोरले १ सय २२ रन मात्र बनाउन सक्यो । बैंगलोरका देवदत्त पडिक्कलले ३४, ग्लेन म्याक्सवेलले २२, काइल जेमिसनले १६ तथा मोहम्मद सिरजले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
कप्तान विराट कोहली र युजवेन्द्र चाहलले ८–८, वासिङ्टन सुन्दरले ७ तथा एबी डि भिलियर्सले ४ रन बनाए ।
बैंगलोरलाई सस्तैमा रोक्ने क्रममा चेन्नइका रविन्द्र जडेजाले ३, इम्रान ताहिरले २ तथा शार्दुल ठाकुर र साम करनले एक–एक विकेट लिए ।
यसअघि, मुम्बइस्थित वानखेडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नइले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको थियो ।
चेन्नइका लागि रविन्द्र जडेजाले अविजित ६२, फाफ डु प्लेसिसले ५०, रितुराज गयकवाडले ३३, सुरेश रैनाले २४ तथा अम्बाती रायुडुले १४ रनको योगदान दिए ।
जितसँगै चेन्नइ आइपिएलको शीर्ष स्थानमा उक्लिएको छ । समान ८ अंक रहेपनि बैंगलोर दोस्रो स्थानमा छ ।