उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयकाे अत्यावश्यक बाहेकका सेवा बन्द

804

काठमाडौं । कोरोना संक्रमण तीव्ररुपमा फैलिन थालेपछि काठमाडौं उपत्यकका तीन जिल्लाका जिल्ला प्रशासन कार्यालयले अति आवश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेका छन् ।

आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले कोरोना संक्रमणको दर बढ्दै गएकाले अत्यावश्यक बाहेकका सेवा एक हप्ताका लागि बन्द गर्ने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

“कोरोना संक्रमण बढ्दै गएकाले तत्कालका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेका हौँ,” काठमाडौं प्रमुख जिल्ला अधिकारी पराजुलीले भने, “हाललाई एक हप्ता सेवा बन्द गर्ने भनेका छौँ । परिस्थिति हेरेर अवधि बढ्न पनि सक्छ ।”

उनका अनुसार अत्यावश्यक बाहेकका सेवा सोमबारदेखि नै बन्द हुनेछन् । यो निर्णयसँगै नागरिकता, नागरिकताको प्रतिलिपि, राहदानी, संघ–संस्था दर्ता तथा नवीकरण, पत्रपत्रिका दर्तालगायतका काम बन्द हुने उनले बताए । यस्तै, बैठकले भिडभाड हुने कार्यालयलाई पनि आलोपालो विधिबाट सेवा प्रदान गर्न निर्देशन दिने निर्णय बैठकले गरेको पराजुलीले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...