काठमाडौं । सत्तारुढ नेकपा (एमाले)ले कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने चार सांसदलाई निष्काशन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको एमाले १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठकले कर्णाली प्रदेशसभामा पार्टीको ह्विप उल्लङ्घन गरी मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिने चार प्रदेशसभा सदस्यलाई पार्टी सदस्य र प्रदेशसभा सदस्य नरहने गरी कारबाही गरेको हो ।
बैठकले प्रदेशसभा सांसद् प्रकाश ज्वाला, अमर बहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई निष्काशन गरेको पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । कारबाहीमा परेकाहरु प्रदेशसभा सदस्य नरहेको जानकारी प्रदेशसभालाई जानकारी गराइने उनले बताए ।
बैठकले स्थायी कमिटीमा हेरफेर गरी तत्कालका लागि १९ जनालाई स्थायी कमिटी सदस्य कायम गरेको छ । त्यस्तै प्रतिनिधिसभामा रहेका २७ नेतामाथि सोधिएको स्पष्टीकरणबारे अध्ययन गरी निर्णय गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिइएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।