काठमाडौं । कोरोना संक्रमण बढेपछि सरकारले ५ देशका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र ‘नो अब्जेक्सन लेटर’ जारी गर्ने कार्य बन्द गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गर्दै जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनका लागि स्वीकृति पत्र दिने कार्य बन्द गरेको जानकारी दिएको हो ।
गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार बिहीबारदेखि अर्को सूचना जारी नभएसम्म स्वीकृति पत्र नदिइने जनाएको हो ।
स्वीकृति पत्र प्राप्त गरेर पनि ती ५ देशमा जान नपाइने हुँदा अहिलेलाई स्थगित गरेको मन्त्रालयका उपसचिव नारायणप्रसाद पोखरेलले जानकारी दिए ।
विदेशमा अध्ययन गरिरहेका विद्यार्थीहरुको हकमा भने स्वीकृति पत्र जारी गर्ने कार्य नरोकिने जनाएको छ ।