सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई

248

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय गर्ने जिम्मा प्रचण्डलाई दिएको हो । वर्तमान केपी ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारलाई समर्थन नरहेको औपचारिक लिखित जानकारी कहिले दिने भन्ने निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष प्रचण्डलाई दिइएको माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकले राष्ट्रिय एकता र राष्ट्रिय स्वाधिनताको रक्षा, सम्पूर्ण लोकतान्त्रिक शक्तिहरुको एकता, संविधान, लोकतन्त्रको रक्षा, सच्चा कम्युनिष्टको एकतालाई केन्द्रबिन्दुमा राखेर सम्पूर्ण नीति, योजना र कार्यक्रम अगाडि बढाउने निष्कर्ष निकालेको प्रवक्ता श्रेष्ठले बताए । त्यसआधारमा नै सबै राजनीतिक , देशभक्त शक्तिहरुसँग छलफल अघि बढाउने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले विधान संशोधन प्रस्तावमाथि आएका सुझावहरुलाई ध्यानमा राखेर पार्टी केन्द्रीय कार्यालयले त्यसलाई अन्तिम मस्यौदाको रुपमा केन्द्रीय कमिटी बैठकमा प्रस्तावका रुपमा लैजाने निर्णय गरेको श्रेष्ठले जानकारी दिए ।

संगठनात्मक कार्यदलले प्रस्तावित विधान संसोधन मस्यौदाका आधारमा आफ्नो संगठनात्मक कार्ययोजना केहिदिनपछि बस्ने स्थायी कमिटी बैठकमा पेस गर्ने र त्यसअनुसार संगठनात्मक योजनालाई अघि बढाउने निर्णय गरिएको उाले बताए ।

आगामी बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले कोभिड–१९ को संक्रमणको विरुद्धको जनचेतना अभियान संचालन गर्न पार्टी पंक्तिलाई निर्देशन दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...