नेपालगञ्जमा वैशाख ९ देखि एक हप्तासम्म लकडाउन गर्ने निर्णय

251

बाँके । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले बाँकेमा कम्तिमा एक साता लकडाउन (बन्दाबन्दी) गर्ने निर्णय गरेको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेको मंगलबार बसेको बैठकले बाँकेमा तीव्ररुपमा कोरोना संक्रमण फैलिरहेकाले कोरोनाको चेन तोड्नका लागि कम्तिमा एक साताको बन्दाबन्दी गर्नुपर्ने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

उनले एकैदिनमा ३ सयभन्दा बढी संक्रमित भेटिन थालेपछि नेपालगञ्जलगायत जिल्लाका विभिन्न क्षेत्रहरु धेरै जोखिममा परिसकेकोले अब बन्दाबन्दीको विकल्प नरहेको हुँदा बाध्य भएर लकडाउनको निर्णय गरिएको बताए ।

वैशाख ९ गते बिहीबारदेखि एकसातासम्मका लागि अति आवश्यक सेवाबाहेक सबै क्षेत्र बन्द रहनेगरी बन्दाबन्दी गरिने निर्णय गरेको डिसिसिएमसीले प्रमुख जिल्ला अधिकारी समक्ष सिफारिस गरेको हो ।

अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि बेड समेत अभाव भएपछि बन्दाबन्दी बाध्यकारी भएको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।

बाँकेमा सोमबार गरिएको ६ सय ३१ नमुना परीक्षणमा ३ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...