आइपिएल २०२१ : पञ्जाबमाथि दिल्लीको सहज जित, दोस्रो स्थानमा उक्लियो

169

काठमाडौं । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत आजको दोस्रो खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

दिल्लीले पञ्जाब किङ्सलाई ६ विकेटले पराजित गर्दै दाेस्राे स्थानमा उक्लिएको छ । १ सय ९६ रनकाे लक्ष्य पछ्याएकाे दिल्लीले १८.२ ओभरमा ४ विकेटकाे क्षतिमा भेट्टायाे ।

राम्रो सुरुवात गरेको दिल्लीका लागि शिखर धवन र पृथ्वी शाँले ५.३ ओभरमा ५९ रनको अर्धशतकीय साझेदारी गरे । शाँ अर्शदीप सिंहको बलमा क्रिस गेलको हातबाट क्याच आउट भए । आउट हुनअघि उनले १७ बलमा ३२ रन बनाएका थिए ।

यस्तै, धवन शतक प्रहार गर्नबाट ८ रनले चुके । उनलाई झाइ रिचर्डसनले बोल्ड आउट गरे । ४९ बलमा २ छक्का र १३ चौकासहित ९२ रनको योगदान दिए ।

यस्तै दिल्लीका कप्तान रिषभ पन्त १५ रनमा आउट हुँदा स्टेभन स्मिथले ९ रन बनाए ।

मर्कूस स्टोइनिस र ललित यादवले २७ र १२ रनको अविजित पारी खेले ।

यसअघि मुम्बइस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९५ रन बनाएको थियो ।

पहिलो विकेटका लागि लोकेश राहुल र मयंक अग्रवालले १ सय २२ रनको शतकीय साझेदारी गरेपनि पञ्जाबले १ सय ९५ रनको विशाल योगफल बनाएको थियो ।

अग्रवालले ३६ बलमा ४ छक्का र ७ चौकसहित ६९ तथा राहुलले ५१ बलमा २ छक्का र ७ चौकाको मद्धतमा ६१ रन बनाए । यस्तै, दीपक हूडा र शाहरुख खानले नटआउट २२ र १५ रनको पारी खेले ।

जितसँगै दिल्ली तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । मुम्बइ इन्डियन्ससँग समान ४ अंक भएपनि दिल्ली नेट रनरेटमा अघि रहँदै दोस्रो स्थानमा रहेको हो । मुम्बइ तेस्रो स्थानमा छ ।

Share This:
सम्बन्धित खबर
Loading...