कर्णालीमा मन्‍त्रिपरिषद् पुनर्गठन : फ्लोर क्रस गर्ने सांसद बने मन्‍त्री

441

सुर्खेत । कर्णालीमा मन्‍त्रिपरिषद् पुनर्गठन भएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार नयाँ मन्त्री नियुक्त गरेका हुन् । शुक्रबार मात्र प्रदेशसभामा विश्वासको मत पाएका मुख्यमन्त्री शाहीले तीनजना नयाँ मन्त्री नियुक्त गरेका हुन्।

मुख्यमन्त्री तथा मन्‍त्रिपरिषद् कार्यालयका अनुसार प्रदेशसभामा मुख्यमन्त्रीको पक्षमा फ्लोर क्रस गरेका एमालेका तीन सांसद मन्त्री नियुक्त भएका हुन्। एमालेको ह्वीप उलंघन गर्दै फ्लोर क्रस गरेका चारजना सांसदमध्ये तीन जनालाई मन्त्री बनाइएको छ । एमालेका सांसद अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा मन्त्री बनेका हुन् ।

मुख्यमन्त्री शाहीले अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकासमन्त्री, नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका छन्। उनीहरुलाई मुख्यमन्त्रीले शनिवार मन्त्रीमा नियुक्त गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले जानकारी दिए। शनिबार मन्त्रीमा नियुक्त भएका तीनै जनाले शुक्रबार प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा फ्लोर क्रस गरेर मुख्यमन्त्रीको पक्षमा मत दिएका थिए।

एमाले नेता नेपाल पक्षका चारजना सांसदले फ्लोर क्रस गरेका थिए। फ्लोर क्रस गरेका प्रकाश ज्वाला भने मन्त्री नियुक्त भएनन्। यस्तै मुख्यमन्त्रीले केही मन्त्रालयको जिम्मेवारी पनि हेरफेर गरेका छन्। सामाजिक विकास र आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी मन्त्री विमला केसीलाई तोकेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारीमा मन्त्री नरेश भण्डारीलाई नै कायम राखिएको छ। नवनियुक्त मन्त्रीहरुको शपथ आइतबार हुने बताइएको छ।

एमाले र माओवादीबीचको एकता भंग भएपछि कर्णालीमा सत्ता संकट गहिरिएको थियो । एमाले सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शाहीले शुक्रबार मात्र प्रदेश सभामा विश्वासको मत पाएका थिए। ३९ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २० मत आवश्यक थियो । मुख्यमन्त्रीको पक्षमा माओवादीका १२, कांग्रेसका ६ र एमालेको माधव नेपाल पक्षका चार सांसदले मत दिएका थिए । संत्ता संकट टरेसँगै मुख्यमन्त्रीले मन्‍त्रिपरिषद् पुनर्गठनको काम अगाडि बढाएका हुन्। केही दिनमा कांग्रेसका मन्त्रीहरु पनि नियुक्त हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ। स्रोतका अनुसार कांग्रेसलाई दुई मन्त्रालय दिने मुख्यमन्त्रीको तयारी छ।

कांग्रेसलाई सामाजिक विकास र कानुन मन्त्रालय दिने तयारी भइरहेको स्रोतको भनाइ छ। कांग्रेसमा यज्ञबहादुर विसी र दिनबन्धु श्रेष्ठ मन्त्री बन्ने चर्चा छ । यस्तै हाल सरकारमा रहेका माओवादीका दुई मन्त्री परिवर्तन गरेर नयाँलाई नियुक्त गर्ने तयारीमा मुख्यमन्त्री शाही छन्।

स्रोतका अनुसार माओवादीका सांसद विन्दमान विष्ट र सीताकुमारी नेपाली मन्त्री बन्ने सम्भावना छ। कर्णालीमा भौतिक मन्त्रालय भने लामो समयदेखि रिक्त थियो। यसअघि एमालेका खड्कबहादुर खत्री बैंकिङ कसुरमा मुछिएपछि मन्त्रीबाट बर्खास्त भएका थिए । त्यसयता यो मन्त्रालय मुख्यमन्त्री शाहीले सम्हाल्दै आएका थिए । उक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले दैलेखबाट निर्वाचित एमाले सांसद अमरबहादुर थापालाई दिएका छन्।

यस्तै यसअघि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रहेका नन्दसिंह बुढाले एमालेको निर्देशनपछि केहीदिन अघिमात्र राजीनामा दिएका थिए। शुक्रवार फ्लोर क्रस गरेका उनलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ। उनी डोल्पाबाट निर्वाचित भएका हुन् ।

यस्तै कालिकोटबाट निर्वाचित कुर्मराज शाहीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन्। शनिवार मन्त्री नियुक्त भएका तीनै जनालाई एमालेको प्रदेश कमिटी पार्टीबाट निस्कासन गरिसकेको छ। यस्तै प्रकाश ज्वालालाई पनि कारबाही गर्न प्रदेश कमिटीले केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ। अन्नपूर्णपोष्ट दैनिकमा छापिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...