- गणेश खनाल
अर्घाखाँची । उर्जा जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले सरकारले विश्वासको मत लिने बताएका छन् ।
सरकार अल्पमत होइन बहुमतमै छ भन्ने देखाउन पनि आफैँ विश्वासको मत लिने बताए । रायमाझीले वर्तमान सरकार ढल्छ भनेर सपना नदेख्न आग्रह गरे। उनले वर्तमान सरकारलाई ढलाउन नसक्ने देखेपछि नेकपाबाट छुट्टिएर गएको नेकपा (माओवादी केन्द्र)ले बाध्यताले समर्थन फिर्ता नलिएको दाबी गरे ।
माओवादीले समर्थन फिर्ता लिएको छैन सरकार बहुमतमै छ तरपनि अन्य दलसँग सरकारलाई समर्थन गर्ने विषयमा छलफल भने भइरहेको जानकारी दिए । प्रेस चौतारी नेपालले सन्धिखर्कमा मंगलबार गरेको पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका नेता रायमाझीले वर्तमान अवस्थामा ताजा जनादेश नै उत्तम विकल्प भएको बताए ।
एमालेले अन्य दलको समर्थन जुटाएर भएपनि सरकारमा समर्थन बनाउने दिशामा अघि बढ्ने बताउँदै बहुमत पुराएर सरकार बनाए एमाले प्रतिपक्षमा बस्ने बताए । प्रधानमन्त्री ओलीले संसद विघटन गरेर निर्वाचनको मिति तोकेको विषय निरकुंशतावादी हो या लोकतन्त्रवादी भनेर समयले बताउँदै राजनीतिक समीक्षा बाँकी रहेको उल्लेख गरे ।
आर्थिक क्रान्तिको नेतृत्व एमाले र नेता केपी ओलीले मात्र सफल बनाउन सक्ने दाबी गरे।