दिल्ली क्यापिटल्सको विजयी सुरुवात, चेन्नइ ७ विकेटले पराजित

आइपिएल २०२१

555

मुम्बइ । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

शनिबार राति सम्पन्न खेलमा दिल्लीले चेन्नइ सुपर किङ्सलाई ७ विकेटले पराजित गरेको हो । १ सय ८९ रनको लक्ष्य पछ्याएको दिल्लीले १८.४ ओभरमा भेट्टयो ।

पहिलो विकेटका लागि पृथ्वी शाँ र शिखर धवनले १ सय ३८ रनको शतकीय साझेदारी गरे । ५४ बल खेलेका धवनले २ छक्का र १० चौकाको मद्धतमा ८५ रन बनाउँदै शार्दुल ठाकुरको बलमा एलबिडब्लु धरापमा परे ।

यस्तै, ३८ बलमा ३ छक्का र ९ चौकासहित शाँले ७२ रनको योगदान दिए । रिषभ पन्तले नटआउट १५ तथा मर्कूस स्टोइनिसले १४ रनको पारी खेले ।

यसअघि, मुम्बइस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नइले निर्धारित २० ओभरमा १ सय ८८ रन बनाएको थियो ।

खराब सुरुवात गरेको चेन्नइको पारी सुरेश रैना र मोइन अलीले सम्हाल्दै ५३ रनको साझेदारी गरे । रैनाले ५४, अलीले ३६ रन बनाए । यस्तै, राम करणले ३४, रविन्द्र जडेजाले २६ तथा अम्बाती रायुडुले २३ रन जोडे ।

जितसँगै दिल्लीले २ अंक जोडेको छ । २ अंक जोडेको दिल्ली तालिकाको पहिलो स्थानमा रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...