काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न मतगणनामा अध्यक्षका प्रत्यासी निर्मला शर्मालाई हराउँदै पोख्रेल निर्वाचित भएका हुन् ।
निर्वाचन समितिका अनुसार पोख्रेलले छ हजार ९ सय ४२ मत ल्याइ विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी शर्माले तीन हजार ९ सय १५ मत प्राप्त गरेका छन् ।
अध्यक्षकै अर्का उम्मेदवार गजेन्द्रसिंह बुढाथोकीले ४९ सय १ मत र रामप्रसाद दाहालले १ सय ५६ मत प्राप्त गरेका छन् । यही चैत २५ गते पहिलोपटक महासंघमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट मतदान गरिएको थियो । पोख्रेल प्यानलका अधिकांश उम्मेदवार विजयी भएका हुन् । विजयी भएपछि नवनिर्वाचित अध्यक्ष पोखरेलले पत्रकारको हक हितका लागि काम गर्ने बताए । त्यस्तै महासंघका स्थायी मुद्दा र आन्दोलनलाई अघि बढाउने प्रतिवद्धता जनाए ।
निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम, महासचिवमा रोशन पुरी र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित भएका छन् ।
यस्तै खुला सचिवमा गोविन्द चौलागाईँ, सचिव (महिला)मा सिर्जना अर्याल, सचिव (आदिवासी जनजाति) नारायणसुन्दर किलम्बू, सचिव (मधेसी) दीपेन्द्र चौहान, सचिव (दलित)मा हेमकर्ण विक र सचिव (एसोसिएट)मा पवन आचार्य निर्वाचित भएका छन् । यस्तै लेखासमिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भए ।