काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको इतिहासमा अहिले दुई तिहाइको विवेकहीन कम्युनिस्ट सरकार बन्नु बिडम्वना भएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको चौथो केन्द्रीय परिषद् बैठकमा प्रचण्डले मुलुकलाई आर्थिक विकासतर्फ लान जनताले कम्युनिस्टलाई दुईतिहाई मत दिएपनि कम्युनिस्ट सरकार विवेकहीन देखिएको बताएका हुन् ।
प्रचण्डले सरकारले संविधान र नियमविपरीत काम गरिरहेको भन्दै राज्यका सबै अंगमा कब्जा जमाएर मुलुकमा अन्यौल र सन्त्रासको अवस्था आएको धारणा पनि राखे।
त्यस्तै उनले विचार, धारणा मिलेकालाई जबरजस्ती डिभोर्स गराइएको भन्दै त्यसलाई पुनर्मिलन गराउन आफुहरु लागेको बताए ।
उहाले संघीय लोकतान्त्रिक गणतन्त्रमाथिको कालो बादल हटिनसकेको भन्दै यसका विरुद्ध उठ्नुपर्ने अवस्था आउने बताए । प्रचण्डले परिस्थिति असहज भएपनि नयाँ सरकार गठन गरेर अगाडि बढ्ने वातावरण बनिरहेको उल्लेख गरे । अहिले प्रधानमन्त्री को हुने भन्दा पनि संविधान रक्षा गर्ने प्रश्न महत्वपूर्ण रहेको उनको भनाइ छ ।
प्रचण्डले संसदीय समितिबाट पारित निजामती कर्मचारी ऐन प्रधानमन्त्रीले टेवलमा थन्काएर राखेको आरोप पनि लगाए । कर्मचारीको अधिकार रक्षाका लागि पनि ओलीलाई सरकारबाट हटाउनुपर्ने उनले बताए ।