सरकार सकभर बन्दामन्दी नगर्ने पक्षमा छ : पर्यटनमन्त्री ढकाल

396

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोरोना महामारी नियन्त्रणका लागि सरकार सकभर लकडाउन (बन्दाबन्दी) नगर्ने पक्षमा रहेको बताएका छन् ।

नेपाल पर्वतारोहण संघ (एनएमए) को ३०औँ वार्षिक साधारणसभाको शनिबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री ढकालले भरसक लकडाउन गर्नु नपरोस् भनेर आवश्यक तयारीमा जुटिरहेको बताएका हुन् ।

कुनै विपत्ति आइलागेमा सामना गर्नुको विकल्प पनि नरहेको भन्दै उनले अहिलेको अवस्थामा सबैले सजकता अपनाउन जरुरी रहेको जिकिर गरे । पर्यटनमन्त्री ढकालले कोभिड महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्र पछिल्ला दिनमा केही सुधाराका सङ्केत देखिए पनि केही दिनदेखि लगातार बढिरहेको कोभिडका सङ्क्रमितको सङ्ख्याले थप भयाबह स्थिति सिर्जना हुने खतरा बढेको उल्लेख गरे ।

उनले पर्वतारोहण क्षेत्रमा कुनै नीति तथा कानुनी समस्या र उल्झन भए त्यसको सहजीकरण गर्न आफू तत्पर रहेको बताउनुभयो । पर्यटन क्षेत्रको समृद्धि र विकासका निम्ति सरकार र निजी क्षेत्रको साझेदारितालाई फराकिलो पारिनुपर्नेमा पनि पर्यटनमन्त्रीको जोड थियो ।

कार्यक्रममा पर्यटन क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । दावा नर्बु पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार पत्रकारद्वय जगदिश तिवारी र अर्जुन पाख्रिनलाई प्रदान गरिएको छ भने सबैभन्दा बढी रोयल्टी बुझाउने १० कम्पनीलाई पनि सम्मान गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...