काठमाडौं । कांग्रेसका नेता महेन्द्र यादवले नयाँ वर्षको सुरुवातमै नयाँ सरकार बन्ने दाबी गरेका छन् ।
रिपोटर्स क्लब नेपालले बिहीबार काठमाडौंमा गरेको साक्षात्कारमा नयाँ वर्षको सुरुवातमै नयाँ सरकार गठनका लागि विभिन्न दलसंग सकारात्मक वार्ता भइरहेको बताएका हुन् ।
उनले अहिले सरकारको विकल्प खोज्ने विषयमा आफ्नो पार्टी स्पष्ट रहेको बताए । नेता यादवले आफ्नो पार्टी अहिलेपनि महाधिवेशनमा केन्द्रित रहेको सुनाउँदै सभापति शेरबहादुर देउवाले सरकार गठनमा त्यति चासो नदेखाएको हुनसक्ने तर्क गरे । उनले ओली नेतृत्वको सरकारलाई प्रतिगमनकारी भन्दै तत्काल सरकारलाई बिदाई गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन यथाशक्य चाँडो फिर्ता लिने स्पष्ट पारे । आफूहरु वर्तमान सरकारलाई विस्थापित गर्ने कुरामा स्पष्ट भैसकेको उनको भनाइ छ ।
जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता वृषेशचन्द्र लालले आफ्नो पार्टीको एजेण्डा सरकार परिवर्तन वा सरकारलाई निरन्तरता दिनेभन्दापनि मुद्दा सम्बोधन नै मुख्य रहेको स्पष्ट पारे ।
उनले आफूहरुले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि कुरा गरिराखेको बताए ।