सफ्टवेयर निर्यात ८९ प्रतिशतले घट्यो : ८ महिनामा ४ ओटा मात्र निर्यात

284

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०७७र७८ को फागुनसम्ममा नेपालबाट हुने सफ्टवेयरको निर्यात ह्वात्तै घटेको छ । परिमाणको आधारमा चालु आवको ८ महिनामा सफ्टवेयरको निर्यात करिब ८९ प्रतिशतले घटेको छ ।

भन्सार विभागबाट प्राप्त चालु आवको फागुन महिनासम्मको तथ्यांकले यस्तो देखाएको हो । समीक्षा अवधिमा नेपालबाट चारओटा मात्र सफ्टवेयर निर्यात भएको छ । विभागकाअनुसार रू ९ लाख ४२ हजार बराबरका ती सफ्टवेयर जापानमा निर्यात भएका हुन् ।

गत आवको सोही अवधिमा नेपालबाट रू १ करोड ८० लाख ७२ हजार बराबरको ३६ ओटा सफ्टवेयर निर्यात भएको थियो । त्यसबेला चीनमा ६ र जापानमा ३० ओटा सफ्टवेयर निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । रकमका आधारमा चीनमा ४५ लाख ९६ हजार रुपैयाँ र जापानमा १ करोड ८० लाख ७२ हजार रुपैयाँको सफ्टवयेर निर्यात भएको थियो ।

अघिल्लो आव २०७५र७६ भरिमा २ करोड ३९ लाख ८२ हजार रुपैयाँ बराबरको ४८ ओटा सफ्टवेयर निर्यात भएको थियो । गत आवदेखि नै सफ्टवेयर निर्यातमा कमी आएको तथ्यांकले देखाउँछ ।

कोरोना महामारीको अवधिमा विश्वका अधिकांश मुलुकका सूचना प्रविधि (आइटी) क्षेत्रले फड्को मारेका छन् । तर, नेपालको आइटी क्षेत्रले भने फड्को मार्न नसकेको यस तथ्यांकले स्पष्ट पारेको छ ।

कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) का अध्यक्ष नवराज कुँवरले कोरोना संकटका कारण सफ्टवेयर उत्पादन घट्दा निर्यातमा पनि कमी आएको बताए । साथै, विदेशी ग्राहकहरूबाट पनि माग कम हुँदा निर्यात घटेको उनको भनाइ छ ।

‘विदेशका ग्राहकबाट माग भएअनुसार नै हामीले सफ्टवेयर बनाएर निर्यात गर्ने हो । तर, यसपटक कोरोना संकटका कारण विदेशका कम्पनी तथा उद्योगहरू प्रभावित भए । त्यसपछि उनीहरूले सफ्टवेयर किन्ने कार्यक्रम कटौती पनि गरे,’ उनले भने, ‘त्यसको प्रभावले पनि सफ्टवेयर निर्यातमा कमी आएको हो ।’

कोरोना संकटमा विश्वका अधिकांश मुलुकका आइटी क्षेत्रले फड्को मारे पनि नेपालको आइटी क्षेत्रले भने त्यसअनुसार फड्को मार्न नसकेको उनी स्वीकार गर्छन् । ‘कोरोनाले अवसर प्रदान गरेको एक मात्र क्षेत्र भनेको आईटी नै हो । तर, हामीले त्यो अवसरलाई उपयोग गर्न सकेनौँ,’ उनले भने, ‘आइटीको विकास गर्नुपर्छ भन्दै आए पनि कहाँ कसरी गर्ने भन्ने मामलामा हामी अगाडि बढ्न सकेनौँ । त्यसमाथि कोरोनाका कारण ढुक्कसँग काम गर्न सकिएको छैन । त्यसको असरले आइटी क्षेत्रको विकासमा असहयोग पुगेको छ ।’

अन्य देशको तुलनामा नेपालीका आइटीसम्बन्धी जनशक्ति सस्तो छ । फलस्वरूप नेपालमा कम खर्चमा नै सफ्टवेयर बनाउन सकिन्छ । यसरी अन्य देशको तुलनामा सस्तो पर्ने भएपछि विदेशीहरूले नेपालबाट सफ्टवेयर किन्न खोजेको क्यान अध्यक्ष कुँवर बताउँछन् । यस सम्बन्धमा राम्रोसँग प्रचारप्रसार गर्न सके ठूलै परिमाणमा सफ्टवेयर निर्यात गर्न सकिने उनको भनाइ छ ।

‘अहिले विविध कारणले सफ्टवेयरको निर्यात घटे पनि नेपालको आइटी क्षेत्रको विकास हुने यसैबाट हो, हार्डवेयरबाट सम्भव छैन ।

सरकारबाट आवश्यक सहयोग मिल्यो भने हामी ठूलै परिमाणमा सफ्टवेयर उत्पादन गरेर निर्यात गर्न सक्छौँ,’ उनले भने, ‘यसका लागि सरकारले पनि स्वदेशी सफ्टवेयर प्रयोग गर्ने, स्वदेशी आइटी कम्पनीहरूलाई प्रवर्द्धन गर्ने काम गर्नुपर्छ ।’ आर्धिक अभियानबाट

Share This:
सम्बन्धित खबर
Loading...