काठमाडौं । नेकपा एमालेका संसद खगराज अधिकारीले संसदीय समितिमा आफूहरु नेकपा नै रहेको भन्दै विरोध जनाएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै यस्तो बताएका हुन् ।
उनले फागुन २३ गते सर्वोच्च अदालतको निर्णयले आफूलाई नेकपाबाट एमाले र माओवादी केन्द्र बनाएपनि समितिमा नेकपा नै रहनुपरेको गुनासो गरे । “अदालतले एमाले र माओवादी केन्द्र बनाएर फेरि एकीकरण गर्न आऊ भनेपछि जान सकेनौँ । त्यसैले हामी दुई पार्टी नै छौँ तर समितिमा नेकपा हुन बाध्य छौँ,” उनले भने ।
समितिमा दुई पार्टीलाई नछुट्याउँदा संसदीय व्यवस्थाअनुसारको सांसदको प्रतिनिधित्व दलको अनुपातमा नभएको उनले बताए । उनले भने,“अहिले नेकपा एमाले र माओवादी केन्द्र भइसक्यौँ । त्यसैले एमाले भएर प्रतिनिधित्व गर्न चाहन्छौँ । नेकपा एमाले ठूलो पार्टी हो । बहुमतको सरकार छ । संसदीय समिति तदअनुरुप व्यवस्था हुनुपर्छ ।”
अधिकारीको गुनासोपछि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था समितिमा छलफल भइसकेकाले चाँडै त्यसअनुसार छुट्याइने बताए ।