दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिज पाकिस्तानलाई

400

सेन्चुरियन । दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय क्रिकेटमा पाकिस्तान विजयी भएको छ । तेस्रो खेलमा दक्षिण अफ्रिकालाई २८ रनले पराजित गर्दै ३ खेलको एकदिवसीय सिरिज पाकिस्तानले २–१ ले जितको हो ।

बुधबार भएको निर्णायक खेलमा पाकिस्तान २८ रनले विजयी भएको हो ।

पाकिस्तानले दिएको ३ सय २१ रनको लक्ष्य पछ्याएको घरेलु टोली दक्षिण अफ्रिकाले ३ बल बाँकी रहँदा अलआउट हुँदै २ सय ९२ रन मात्र बनाउन सक्यो ।

दक्षिण अफ्रिकाका जेन्नेमान मलानले ७०, काइल भेरिनले ६२, एन्डिल फेहलुकवेओले ५४ रनको पारी खेलेपनि जितका लागि पर्याप्त भएन ।

दक्षिण अफ्रिकालाई कम स्कोरमा समेट्ने क्रममा पाकिस्तानका मोहम्मद नवाज र शहीन अफ्रिदीले समान ३–३ तथा हरिस रौफले २ विकेट हात पारे ।

यसअघि, सेन्चुरियनस्थित सुपरस्पोर्ट्स पार्कमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको पाहुना टोली पाकिस्तानले निर्धारित ५० ओभरमा ३ सय २० रन बनाएको थियो ।

पाकिस्तानका लागि फखर जमानले शतकीय योगदान दिए । १ सय ४ बलको सामना गरेका जमानले ३ छक्का र ७ चौकाको मद्धतमा १ सय १ रन जोडे ।

राम्रो सुरुवात गरेको पाकिस्तानले पहिलो विकेटका लागि इमाम उल हक र फखर जमानले १ सय १२ रनको शतकीय साझेदारी गरेका थिए । इमाम उल हक ५७ रनमा आउट भए । यस्तै, कप्तान बाबर आजमले ९४, हसन अलीले नटआउट ३२ तथा सर्फराज अहमदले १३ रनको पारी खेले ।

जितसँगै पाकिस्तानले तीन खेलको एकदिवसीय सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ । यसअघि भएको पहिलो खेलमा पाकिस्तान ३ विकेट तथा दोस्रो खेलमा दक्षिण अफ्रिका १७ रनले विजयी भएको थियो ।

दुई टोलीबीच टी–२० श्रृङ्खला अन्तर्गत पहिलो खेल शनिबार जोहानसबर्गमा हुनेछ ।

Share This:
सम्बन्धित खबर
Loading...