काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले कारबाही गरी पदमुक्त गरेपछि प्रभु साह विरोधमा उत्रिएका छन् ।
निर्वाचित सांसदलाई पदमुक्त गर्ने पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को कदम निरंकुशताको पराकाष्ठा भएको आरोप उनले लगाए । “जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पदमुक्त गर्ने प्रचण्डको निर्णय लोकतन्त्रको उपहास एवम् निरंकुशताको पराकाष्ठा हो” साहले भने ।
साहले तत्कालीन एमाले र माओवादीको साझा घोषणापत्र र संयुक्त मतबाट निर्वाचित जनप्रतिनिधिमाथि प्रचण्डले प्रतिगामी हमला गरेको आरोप लगाएका हुन् । “आफू चुनाव जित्नलाई नेकपा एमालेसंग एकता/सहकार्य गर्ने, नेकपा अध्यक्षको हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिइराख़्नेहरूले हामी साझा घोषणापत्र एवं संयुक्त मतबाट निर्वाचित जनप्रतिनिधिमाथी कथित दल त्यागको कानुनी डण्डा चलाउनु कुनै नैतिकताले सुहाउँदैन ।”
साहले विज्ञप्तिमार्फत निर्वाचित जनप्रतिनिधिलाई त्रासित र सिंगै संसदलाई पंगु बनाउने खेलले आफूलाई कथित संसद पुनः स्थापनाको पक्षधर बताउनेहरु नाङ्गो भएको टिप्पणी गरेका छन् ।
विज्ञप्तिमा साहले भनेका छन्, “निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने यो खेलले आफूलाई कथित संसद पुनर्स्थापनाको पक्षधर बताउनेहरू आज फेरि नांगै भएका छन् । अर्थात् रूपमा अहिलेकैं संसद सुचारू हुनुपर्छ भनेर माग गर्ने तर सारमा जनभावना एवं लोकतान्त्रिक मान्यता विपरीत प्राविधिक/कानुनी आडमा सम्मानित सदन तथा जनताको सच्चा प्रतिनिधिको रुपमा क्रियाशील सांसदहरुको पदमाथि यसरी अनुचित रुपमा हमलाको दुसप्रयास गर्नु आफैँमा प्रतिगामी कार्य हो ।”