काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमालेमा प्रवेश गरेको आफ्ना ४ जना प्रतिनिधिसभा सदस्यलाई कारबाही गरेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री टोप बहादुर रायमाझी, सहरी विकासमन्त्री प्रभु साह, उद्योग वाणिज्य तथा आफूर्तिमन्त्री लेखराज भट्ट र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीलाई दल त्याग गरेको सूचना संसद सचिवालयलाई दिएका छन् ।
उर्जामन्त्री रायमाझी अर्घाखाँची–१, उद्योगमन्त्री भट्ट कैलाली–४, सहरी विकासमन्त्री साह रौतहट–३ र श्रममन्त्री चौधरी कैलालीबाट निर्वाचित भएका थिए ।
प्रचण्डले फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि उनीहरुले माओवादी केन्द्रको प्रतिनिधित्व गर्नुपर्नेमा नेकपा एमालेको राजनीतिक गतिविधिमा संलग्न भएको र केन्द्रीय सदस्य पद स्वीकार गरेकाले कारबाही गरेको उल्लेख गरेका छन् ।
उनीहरुलाई दलको विधान र राजनीतिक दलसम्बन्धी ऐनले तोकेको दायित्व जानाजान उलङ्घन गरेको भन्दै माओवादी केन्द्रले गत चैत्र १ गते स्पष्टीकरण माग गर्दै सरकारबाट फिर्ता आउन निर्देशन दिएको थियो ।
तर उनीहरुमध्ये राजमाझी, भट्ट र चौधरीले स्पष्टीकरणको जबाफ नै नदिएको र साहले दिएको जबाफ चित्तबुझ्दो नभएको भन्दै माओवादी केन्द्रले संसद सचिवालयमा दल त्याग सम्बन्धी कारबाहीका लागि सिफारिस गरेको थियो ।
सर्वोच्चले नेकपा माओवादी केन्द्र ब्युँतिएपनि अहिले मन्त्री रहेका रामबहादुर थापा‘बादल’ रायमाझी, भट्ट, साह र चौधरीले माओवादी केन्द्रमा नर्फकने बताएका थिए ।