माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका सांसदलाई ‘कारबाही’, लुम्बिनी प्रदेशसभामा २ सांसदको पद रिक्त

269

लुम्बिनी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) छाडेर एमालेमा प्रवेश गरेका लुम्बिनी प्रदेशसभा सदस्यद्वय दधिराम न्यौपाने र दिनेश पन्थीले संसद पद गुमाउने भएका छन् ।

सोमबार बस्ने प्रदेशसभा बैठकमा सभामुखले उनीहरुमाथि कारबाहीको पत्र पढेर सुनाउने भएका हुन् । माओवादी केन्द्रबाट निर्वाचित भएका उनीहरु पछिल्लो समय नेकपा एमालेमा सामेल भएसँगै माओवादी केन्द्रले उनीहरुमाथि कारबाही गर्दै प्रदेशसभालाई चिठी पठाएको थियो ।

सोमबार बस्ने बैठकमा सभामुखले सो पत्र पढेर सुनाउने कार्यसूचि रहेको प्रदेशसभाका प्रवक्ता हरिहर पोखरेलले जानकारी दिए ।

माओवादी केन्द्र परित्याग गरेको संसदद्वय न्यौपाने र पन्थी पछिल्लो समय एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

एमालेमा प्रवेश गरेसँगै माओवादी केन्द्रले प्रदेशसभा नियमावलीको दफा १९० अनुसार कारबाही प्रयोजनका लागि प्रदेशसभामा पत्र पठाएको हो ।

सोही नियमावलीको दफा १९२ मा ‘दल त्यागको सूचना सभाको बैठकलाई दिएमा वा त्यस्तो सूचना सचिवालयको सूचना पाटीमा टाँस भएमा त्यस्तो सदस्यको स्थान रिक्त भएको मानिने’ उल्लेख छ ।

सोही दफाअनुसार सांसदद्वय न्यौपाने र पन्थीको पद सोमबारबाट रिक्त हुने भएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...