काठमाडौं । नेकपा एमालेकी सांसद गंगा चौधरीले टीकापुर घटनाका दोषी भनिएका रेशमलाल चौधरी निर्दोष रहेको दाबी गरेकी छन् ।
प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद चौधरीले रेशम चौधरी टीकापुर घटना नघटाएको र घटनामा संलग्न भनिएका सबै निर्दोष रहेको दाबी गरिन् । “दुनियाँको नजरमा रेशम चौधरी अपराधी हुन् भन्ने भ्रम परेको छ,” उनले थपिन्, “म दावाका साथ भन्न सक्छु, टीकापुर घटानामा जोडिएका रेशम चौधरीलगायत ५८ जना निर्दोष छन् ।”
उनले घटना हुँदा चौधरी टीकापुरमा नै नभएको ठोकुवा समेत गरिन् । “घटना हुँदा रेशम चौधरी टीकापुरमा थिएनन्, बर्दियामा थिए । राजनीतिक कारणले उनलाई फसाइएको हो । टीकापुर घटना राजनीतिक कारण घटाइएको थियो ।” चौधरीले भनिन् ।