विगत् ३६ वर्षदेखि भारतीय जमिनमा जितविहीन इंग्ल्यान्ड

406

पुणे । इंग्ल्यान्डविरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा ७ रनले विजयी हुँदै भारतले श्रृङ्खला २–१ ले जितेको छ । यसअघि भएको खेलमा दुवै टोलीले एक–एक खेल जितेपछि आइतबारको खेल निर्णायक थियो ।

निर्णायक खेलमा ७ रनको झिनो अन्तरले पराजित गरेपछि भारतलाई उसकै मैदानमा हराएर ३६ वर्षपछि सिरिज जित्ने इंग्ल्यान्डको सपना चक्नाचुर बन्यो ।

उक्त खेलमा इंग्ल्यान्डलाई जितका लागि ६ बलमा १४ रन चाहिएको थियो । क्रिजमा थिए खेलमा उत्कृष्ट ब्याटिङ गरिरहेका इंग्ल्यान्डका साम करन र मार्क वूड । अन्तिम ओभर बलिङ गर्न आएका थिए टी नटराजन । नटराजनको पहिलो बलमा करनले लङ–अनमा खेल्दै दुई रन लिने क्रममा वुड रन आउट हुन पुगे ।

यस्तै, पाँचौँ बलमा चौका प्रहार गरेपनि टोलीलाई जित दिलाउन सकेन । उक्त खेलमा भारत ७ रनले विजयी मात्र भएन सिरिजसमेत आफ्नो पक्षमा पार्यो ।

भारतका रिषभ पन्तले ७८, शिखर धवनले ६७, हार्दिक पाण्ड्याले ६४, रोहित शर्माले ३७, शार्दुल ठाकुरले ३० तथा क्रुणाल पाण्ड्याले २५ रनको योगदान दिए ।

इंग्ल्यान्डले १९८४–८५ मा पछिल्लो पटक उसकै मैदानमा ४–१ ले हराउँदै सिरिज जितेको थियो ।

त्यसयत इंग्ल्यान्डले भारतीय भूमिमा ८ वटा एकदिवसीय सिरिज खेलेको छ । जसमध्ये दुई वटा सिरिज ड्र गरेको छ भने बाँकी ६ वटा सिरिज गुमाएको छ ।

भारत भ्रमणमा रहेको इंग्ल्यान्ड टेष्ट सिरिजमा ३–१, टी–२० प्रतियोगितामा ३–२ ले पराजित भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...