ट्राफिक महाशाखाद्वारा भेटिएका ३० वटा मोटरसाइकल धनीलाई हस्तान्तरण

586

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई नियन्त्रण तथा त्यसमा संलग्न हुने व्यक्तिलाई कारबाहीको प्रक्रियालाई तीव्ररुपमा अगाडि बढाएको छ ।

महाशाखाले पीडित सहायता इकाइबाट खटिएको टोलीले गोलढुङ्गाबाट गंगबु बस्ने अशोकमान सिं कुँवरको हराएको बा९२प ९१३३ नम्बरको निलो बुलेट बाइक चोरीमा संलग्न नुवाकोटका ३० वर्षीय बिमल गुरुङ्ग र मोरङ्ग बेलबारी घर भई गोलढुङ्गा बस्ने आशिष खत्रीलाई मोटरसाइकलसहित पक्राउ गरेको हो । उक्त मोटरसाइकलको वास्तविक नम्बर प्लेट परिवर्तन गरी बा९६प ४५९० नम्बर प्रयोग गरेको अवस्थामा पक्राउ गरेको हो ।

महाशाखाले दुई हप्तामा चोरी भएका १९ वटा मोटरसाइकल र ११ वटा स्कुटर गरी ३० वटा मोटरसाइकल खोजतलास एवम् बरामद गर्न सफल भएको छ । उक्त चोरी भएका मोटरसाइकलहरू उपत्यका र आसपासका विभिन्न स्थानबाट बरामद गरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले आज सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएका छन् ।

कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले सवारी साधनको चोरी नियन्त्रण गर्ने अभियानलाई तिब्रता दिइदै आएको बताए । उनले “यसका लागि सादा पोसाकमा समेत विशेष ट्राफिक प्रहरीको टोली परिचालन गरेका छौँ, त्यस टोलीले नियमित रूपमा खबर संकलन गर्ने तथा विशेष अपरेसनमार्फत मोटरसाइकल बरामद गर्ने गर्दछ भने चोरीमा संलग्न मानिसहरुलाई समेत पक्राउ गर्ने गर्दछन् ।”

महाशाखाको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले उपत्यकाको भक्तपुर, काँडाघारी, माछापोखरी, गोकर्णेश्‍वर, टोखा, नयाँबसपार्कका साथै उपत्यकासँग सिमाना जोडिएका विभिन्न स्थानबाट यी मोटरसाइकलहरु बरामद गरेको एसएसपी भट्टराईले जानकारी दिए ।

ट्राफिक महाशाखाले विशेष सूचना संकलन गरी अपरेसनमा गई मोटरसाइकलहरु बरामद गर्दछन, चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी बृत्तमा पठाउने गरेको र अन्य अनुसन्धान पश्चात फेला परेका र बरामद गरेका मोटरसाइकलहरु सम्बन्धित धनीलाई सम्पर्क गरी बुझाउने गरेको महाशाखाले जनाएको छ ।

यस आर्थिक वर्षमा मात्रै हराएका ३ सय ३१ वटा मोटरसाइकल खोजतलास गरी सवारी धनीलाई जिम्मा लगाउनुको साथै चोरीमा संलग्न ४५ जना व्यक्तिहरूलाई पक्राउ गरी विभिन्न प्रहरी बृत्तहरुमार्फत मुद्दा चलाएको महशाखाले जनाएको छ ।

चोरी भएको थाहा पाउनसाथ नजिकको प्रहरी वा ट्राफिक प्रहरीको हटलाइन १०३ वा अनलाइन सेवा ‘Lost Vehicle Application’ मा लगइन गरेर निवेदन दिने व्यवस्था समेत रहेकोले समयमै जानरी गराउन महाशाखाले अनुरोध गरेको छ ।

जिम्मा लगाएकाे माेटरसाइकलकाे सूचि

मोटरसाइकल हस्तान्तरण सूचि
Share This:
सम्बन्धित खबर
Loading...