काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वका विरुद्ध आफूखुसी गुटगन भेला नगर्न–नगराउन र त्यस्ता भेलामा सरिक नहुन सबै नेता कार्यकर्तालाई कडा निर्देशन दिएका छन् ।
बालुवाटारमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले गरेको भेलामा सहभागी नहुन निर्देशन दिए । उनले पार्टीभन्दा बाहिर गएर गुटगत भेला नगर्न पनि चेतावनी दिए । पार्टी विधिविधानअनुसार चल्ने भन्दै उनले मनपरी गर्ने छुट कसैलाई नभएको बताए । कानुनका नजरमा सबै समान हुने भन्दै उनले निर्देशन विपरीत गुटगत भेलामा कारबाही हुन सक्ने संकेत पनि गरे ।
उनले भने, “भोली आह्वान गरेको छ रे । नेकपा एमालेसँग आवद्ध नेता वा कार्यकर्ता गुटगत भेला नगर्ने/नगराउन, त्यस्ता भेलामा सरिक, सहभागी र नजान सम्पूर्ण नेता कार्यकर्ताहरुलाई सजग/सचेत गराउन चाहन्छु । पार्टी एकताको पक्षमा बस्न आग्रह गर्न चाहन्छु । र त्यस्ता गुटगत भेलाहरुमा सरिक नहुनपनि म तमाम कार्यकर्तालाई आग्रह गर्दछु । यस पार्टीमा कसैमाथि अन्याय हुँदैन ।”
प्रधानमन्त्री ओलीले सडकमा विधिविधानका कुरा गरेर नेता नेपाल पक्षले जंगलको राज गर्न चाहेको टिप्पणी गरे ।