धुम्बराहीमा एमाले बैठक : दुवै पक्ष आ-आफ्नै अडानमा

197

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले २८ फागुनमा गरेको एकलौटी निर्णय मान्य नहुने बताएका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा दुवै पक्षबीच आज पहिलोपटक भएको बैठकपछि नेता नेपालले पत्रकारहरुसँग भने, ‘अदालतको फैसलापछि पूर्व एमालेको जुन स्थान थियो, संरचना, पदाधिकारी र सदस्यका हिसाबले, त्यो ठाउँमा फर्कौँ । २८ गतेको बैठक वैधानिक छैन, त्यसलाई शून्य स्थितिमा पुर्‍याउँ ।’ तर अध्यक्ष ओली त्यसमा सहमत नभएको नेता नेपालको भनाइ छ ।

२८ फागुनको निर्णय खारेज गर्न अध्यक्ष केपी शर्मा ओली तयार नभएको समेत उनले बताए । एमाले शीर्ष नेताहरुबीच सोमबार भएको वार्तामा नेपाल पक्षले अध्यक्ष ओलीले २८ फागुनमा गरेको एकलौटी निर्णय मान्य नहुने बताएको थियो ।

मिठो-मिठोबाट सुरू भएर आ-आफ्नै अडानमा
दुवै पक्षको वार्तापछि बाहिरिएका वरिष्ठ नेता माधवकुमार नेपालले बैठकको सुरूमा मिठो-मिठोबाट सुरु भएर अन्त्यमा आफ्ना(आफ्ना अडानमा सकिएको बताए ।

पत्रकारहरुसँग उनले भने, ‘हाम्रो एउटै भनाइ थियो । ‘२८ गतेको बैठकलाई शून्य अवस्थामा पुर्‍याइदिउँ र सिंगो पार्टीको बारेमा बसेर छलफल गरौँ भन्ने प्रस्तावमा त्यो स्वीकार नभएपछि बैठक सकियो ।’ नेता नेपालले भने, ‘पूर्वएमालेहरूको पहिलेको जुन अवस्था थियो त्यो ठाउँमा फर्कौँ, २८ गतेको बैठक वैधानिक छैन’ ।

एमाले र माओवादी ब्युँताउने सर्वोच्च अदालतको फैसलापछि अलग भएको एमालेमा ओली र माधवबीचको संवादहीनताको स्थिति तोड्दै दुवै पक्षका नेताहरू आज करिब २ घन्टा छलफलमा बसेका थिए ।

धुम्बाराहीमा शीर्ष नेताहरुबीच भएको वार्तामा दुवै पक्षले आ-आफ्नो धारणा राखेका थिए । वार्ता सकेर निस्केका माधव नेपालपक्षीय नेताहरूले वैठक सौहार्दपूर्ण भएको तर निष्कर्ष पुग्न नसकेको बताए । गत २८ गतेको बालुवाटार बैठकबाट लिइएका निर्णय फिर्ता लिनुपर्ने अडान आफूहरुले प्रस्तुत गरेको तर प्रधानमन्त्रीबाट सकारात्मक जबाफ नआएको एमाले उपाध्यक्ष भीम रावलको भनाइ छ ।

‘आज कुरा मिलेन । फेरि छलफल गर्ने कुरा भएको छ । तर कहिले कसरी भन्ने निश्चित भएको छैन’, माधव नेपाल पक्षबाट छलफलमा सहभागी नेता रावलले भने,‘ उहाँहरुले २८ गतेको निर्णय खारेज गर्नुभयो भने, हामीले हाम्रा तर्फबाट घोषणा गरेका कार्यक्रम स्थगित गर्छौँ, नत्र जारी राख्छौँ ।’ उनले भने ।

‘हामीले सर्वोच्चको फैसलाअनुसार पार्टीलाई ३ वर्षअगाडिको अवस्थामा नै फर्काउनुपर्ने कुरा राख्यौँ । यसका लागि २८ गतेको वैठकले गरेका निर्णय रद्द गर्नुपर्छ । तर, प्रधानमन्त्रीले भने अस्तिको बालुवाटार वैठकबाट भएका निर्णय फिर्ता लिने इच्छा देखाउनुभएन ’ रावलले भने । आजको वार्तालाई आफूहरुले सकारात्मकरुपमै लिएको नेता रावलको भनाइ छ । ‘यति लामो मतभेद एकचोटी बस्दैमा मिल्दैन, सक्दैन । तर, बैठकलाई हामीले सकारात्मक रुपमा लिएका छौँ,’ उनले भने ।

त्यस्तै, वार्ता सकेर निस्किएका नेता रघुजी पन्तले पत्रकारहरुसँग भने, ‘दुवै पक्षले आआफ्नो अडान राखेका छन्, छलफल जारी रहन्छ’ वार्तामा नेपाल पक्षले २८ गतेको वालुवाटारबाट भएका निर्णयहरु फिर्ता लिनुपर्ने अडान राखेको छ । आफूहरुले २८ गतेको निर्णय फिर्ता लिनुपर्ने विषयमा अडान प्रस्तुत गरेको तर प्रधानमन्त्रीबाट ठोस जवाफ नआएको माधव नेपालपक्षीय नेता रघुजी पन्तको भनाइ छ ।

नेपाल पक्षको भेला स्थगित गर्न आग्रह
नेकपा एमाले केपी ओली पक्षले माधव नेपाल पक्षलाई चैत ४ र ५ गते बोलाइएको भेला स्थगित गर्न आग्रह गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा आज भएको वार्तामा सो आग्रह गरिएको पार्टी सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठक सकेर निस्किएका उनले भने ‘यस्तो भेलाले पार्टी एकतालाई बल पुर्‍याउँदैन भन्ने हाम्रो धारणा हो, यही कुरा उहाँहरूसमक्ष राख्यौँ,’ । नेपाल पक्षले पनि गत २८ गते आयोजना गरिएको विशेष वैठकका निर्णयहरू रद्द गर्नुपर्ने अडान लिएको छ । ‘यदि २८ गतेको निर्णय उहाँहरूले फिर्ता लिने हो भने हामी भेला स्थगित गर्न सक्छौँ ।’ उनले भने ।

त्यस्तै, एमालेका नेता सुरेन्द्र पाण्डेले सर्वोच्च अदालतले एमाले ब्युँताइदिएकोले त्यहीँबाट पार्टी एकताको प्रस्थानबिन्दु सुरू गर्नुपर्ने बताए । पार्टी एकताको प्रस्थानबिन्दु सर्वोच्चको फैसला पछिको अवस्थालाई बनाउनुपर्ने नेता पाण्डेको भनाइ छ । ‘सर्वोच्चले एमाले ब्युँताइदियो । त्यहीँबाट पार्टी एकताको प्रस्थानबिन्दु बनाऔँ भनेर हामीले भन्यौँ,’ उनले भने, ‘त्यसमा खासगरी अध्यक्षको सहमति भएन।’

उनले आज सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको पनि बताए । ‘मीठो ढंगले कुराकानी भयो । रमाइलो ढंगले कुराकानी भयो तर कुरा मिलेन,’ उनले भने।

एमाले पार्टी कार्यालय धुम्बाराहीमा आज भएको वार्तामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवै पक्षका नेताहरु उपस्थित भएका थिए । नेकपा एमालेमा देखिएको विवाद मिलाउन दुवै पक्ष वार्तामा बसेका हुन् । प्रधानमन्त्री समेत रहेका अध्यक्ष अ‍ोलीले नेपाल पक्षलाई छलफलका लागि बोलाएका हुन् । छलफलमा ओलीसहित उनका तर्फबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ समभागी भएका थिए ।

अर्कातर्फ नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, रघुजी पन्त, गोकर्ण विष्ट सहभागी छन् । झलनाथ खनाल भने वार्तामा सहभागी भएका थिएनन् ।

Share This:
सम्बन्धित खबर
Loading...