रोड सेफ्टी वर्ल्ड सिरिज : युवराज सिंहको तुफानी पारीमा भारतको सहज जित (भिडियो)

152

एजेन्सी । रोड सेफ्टी वर्ल्ड सिरिज अन्तर्गत भारत विजयी भएको छ । शनिबार राति भएको खेलमा भारतले दक्षिण अफ्रिका लिजेन्डलाई ५६ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

सहीद वीर नारायण सिंह अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतीय लिजेन्डले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ४ रन बनाएको थियो ।

भारतका लागि सचिन तेन्दुल्कर र युवराज सिंहले अर्धशतकीय पारी खेले । सचिनले ६० तथा युवराजले ५२ रनको अविजित पारी खेले । युवराजले २२ बलमा ६ छक्का र २ चौका हिर्काए ।

यस्तै, सुब्रमन्यम बद्रिनाथले ४२, युसुफ पठानले २३ तथा मनप्रीत गोनीले १६ रनको योगदान दिए ।

२ सय ५ रनको विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले पुरै ओभर खेल्दै १ सय ४८ रन मात्र बनाउन सक्यो ।

दक्षिण अफ्रिकाका मोर्ने भ्यान विक र एन्ड्रयु पुटिकले पहिलो विकेटका लागि ८७ रनको साझेदारी गरेपनि अन्य खेलाडीले उल्लेखनीय योगदान गर्न नसक्दा हार ब्याहोर्न बाध्य भयो । मोर्नेले ४८ र एन्ड्रयुले ४१ रन बनाए । यस्तै, जोन्टी रोड्सले २२ तथा जेन्डर डि ब्रुइनले १० रन जोडे ।

भारतका युसुफ पठानले ३ तथा युवराज सिंहले २ विकेट लिए ।

जितसँगै भारत अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । भारतले ६ खेलबाट २० अंक जोडेको छ । यस्तै, दोस्रोमा श्रीलंका, तेस्रोमा इंग्ल्यान्ड, चौथोमा दक्षिण अफ्रिका रहेका छन् । यस्तै, पाँचौँमा वेष्ट इन्डिज, छैठौँमा बंगलादेश र सातौँ स्थानमा अष्ट्रेलिया रहेको छ ।

तालिकाको शीर्ष चारमा रहेका टोलीले सेमिफाइनल खेल्नेछ ।

Share This:
सम्बन्धित खबर
Loading...