काठमाडौं । पछिल्लो समय बजारमा डिजिटल भुक्तानीमध्ये क्यूआर कोड (क्वीक रेस्पोन्स) मार्फत हुने कारोबारको विषयले चर्चा पाएको छ । चर्चा भएअनुसार नै क्यूआर कोडमार्फत हुने कारोबार प्रत्येक महीना हजारौंको संख्यामा बढेको छ ।
क्यूआर कोडमार्फत हुने भुक्तानीलाई प्रोत्साहन गर्न राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफै लागिपरेका छन् । गत कात्तिक र मंसिर एकै महिनाको अन्तरमा कारोबार संख्यामा उल्लेख्य वृद्धि भएको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार एकै महीनामा १ लाख १ हजार ७ सय ५६ कारोबार थपिएर गत मंसिरमा कुल कारोबार संख्या ३ लाख ४३ हजार ५ सय ७४ पुगेको छ । सो संख्यामा रू। १ अर्ब २५ करोड ५५ लाख रूपैयाँ बराबरको भुक्तानी क्यूआर कोडमार्फत भएको छ ।
यसैगरी गत पुसमा मंसिर महिनाको तुलनामा २८ हजार ६ सय २ ओटा कारोबार थपिएर कुल कारोबार संख्या ३ लाख ७२ हजार १ सय ७६ पुगेको छ । यस अवधिमा क्यूआरबाट भुक्तानी गर्नेको संख्या बढे पनि कुल कारोबार रकममा भने न्यून संकुचन आएको छ । पुस महीनामा १ अर्ब २४ करोड ५० लाख रुपैयाँ क्यूआर कोडमार्फत भुक्तानी भएको थियो ।
क्यूआर कोडबाट भुक्तानी बढ्दै गएपछि यसलाई थप व्यवस्थित र एकरूपता दिन राष्ट्र बैंकले क्यूआर कोडको मार्गदर्शन (नेपाल क्यूआर स्ट्यान्डर्डजेसन फ्रेमवर्क एन्ड गाइड लाइन) जारी गरिसकेको छ ।
यस्तो मार्गदर्शनले क्यूआर कोड भुक्तानी थप प्रभावकारी बनाउने र कारोबारको संख्यासमेत बढ्ने अपेक्षा केन्द्रीय बैंकको छ ।
साथै, अबदेखि क्यूआर कोडमार्फत कम्पनी मात्र नभएर व्यक्तिगत संस्थाहरूले पनि भुक्तानी गर्न सकिने व्यवस्था थपिँदै छ । ‘यो व्यवस्था आउनुअघि यस्तो भुक्तानी संयुक्तरूपमा सञ्चालनमा रहेका लिमिटेड कम्पनी अर्थात् कर्पोरेशनहरूले मात्र गर्न पाउनेमा अब स्थायी लेखा नम्बरमा दर्ता नभएका व्यक्तिगत उद्यमले पनि भुक्तानी गर्न पाउनेछन् । यसअघि उक्त मार्गदर्शनमा १ महीने सुझाव संकलनको अवधिमा यसलाई पनि समेटन भनिएकाले थप व्यवस्थित गरिएको हो,’ गभर्नर अधिकारीले भने ।
यससँगै ग्राहकले क्यूआर कोड स्क्यान गरेर भुक्तानी गर्दा एउटै एपको प्रयोगबाट भुक्तानी गर्न सकिने व्यवस्था मार्गदर्शनमा समेटिएको छ । भिसा कार्ड जुनसुकै एटीएममा चलेजस्तै क्यूआर कोडलाई पनि अन्तरआबद्धता गर्ने व्यवस्था बनाइन लागिएको हो ।
यो व्यवस्थाअनुसार सबै प्रकारका भुक्तानी सेवाप्रदायक सञ्चालक र कम्पनीको सेवालाई अन्तरआबद्धता गराई एकै ठाउँबाट भुक्तानी गर्न सकिनेछ । यसअघि अधिकांशको एउटा संस्थाले जारी गरेको क्यूआरमा अर्को संस्थाको डिभाइसमा रिट गर्ने थिएन ।
अबको नयाँ व्यवस्थामा अन्तरआबद्धता हुने भएकाले अलगअलग क्यूआर कोड र एप राख्नु पर्दैन । यसो गर्दा संस्थाको लगानी पनि कम हुने केन्द्रीय बैंकको भनाइ छ ।
राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलका अनुसार यो व्यवस्थाले विभिन्न बैंक तथा वित्तीय संस्था, कम्पनी तथा भुक्तानी प्रदायक संघसंस्थाको मोबाइल बैंकिङ एप तथा वालेट एप डाउनलोड गर्नुपर्दैन । ‘मार्गदर्शन कार्यान्वयनमा ल्याइसक्यौं । टेक्नोलोजी प्रोभाइडरले प्रविधि दिएको छ । बैंकहरूले त्यो प्रविधिअनुसार क्यूआर कोडसहितको मोबाइल एप दिएका छन् । अहिलेको स्थितिमा करिब २५ ओटा बैंकहरूले एउटै प्रविधि अर्थात् फोन पेको प्रविधि लिएकाले क्यूआर कोडको अन्तरआबद्धता अहिले पनि कायमै छ । केही थोरै संख्यामा अन्तरआबद्धता नभएका संस्थाहरू मात्रै छन्,’ उनले भने । क्यूआर कोडमा फोन पेको प्रयोग गरे पनि एससीटीले इस्यू गरेको स्मार्ट क्यूआर र विदेशी ग्राहकलाई भुक्तानीमा सहज हुने गरी फस्र्ट पेले पनि ल्याएको छ । अहिले फोन पेको बजार अंश धेरै भएको र विस्तारै अरूले पनि नेपाल क्यूआरअन्तर्गत रहेर आआप्mनो क्यूआर ल्याए अन्तरआबद्धता हुनैपर्नेछ । यसो भए आम सर्वसाधारणलाई सहज हुन्छ ।
क्यूआर कोड सेवा प्रयोगबापत शुल्क लिन नपाइने अहिलेसम्मको धारणा हो । यसको प्रणाली बनाएपछि मर्चेन्टहरूसँगको सहकार्यमा गर्ने भएकाले ग्राहकलाई सेवाशुल्क लाग्दैन । उक्त मार्गदर्शनले पनि केन्द्रीय बैंकले यस्तो सेवा लिएबापतको शुल्क तोकेको छैन । तर, आवश्यक परेका बेला राष्ट्र बैंकले सीमा तोक्न सक्नेछ ।
यसैगरी उक्त मार्गदर्शनले क्यूआर कोडको नेटवर्क, इस्यू गर्ने सबै संस्था, मर्चेन्टलगायत बजारका सबै खेलाडीको दायित्वबारे व्याख्या गरेको छ । यस्तै, क्यूआर कोड प्रयोगमा सुरक्षाको प्रबन्ध अपनाउन पनि निर्देशन दिएको छ । क्यूआरको भुक्तानी एउटा बैंकबाट अर्को बैंकमा गर्ने प्रक्रिया हो । यस्तो कारोबारमा सुरक्षाको व्यवस्थाका लागि विधि अपनाउनसमेत भनिएको केन्द्रीय बैंकले बताएको छ ।
बैंक तथा वित्तीय संस्था, कम्पनीहरूले आफ्नो भुक्तानी प्रणालीको विकास गरेपछि क्यूआर एपको सुरक्षा तथा सेक्युरिटी अडिट, ग्राहकको गुनासा सुन्न सक्ने व्यवस्था गर्नुपर्नेछ ।
क्यूआर कोडलाई जारी गर्ने नेटवर्क, संघसंस्थाहरूले वहन गर्नुपर्ने भूमिकाबारे पनि उक्त मार्गदर्शनले व्याख्या गरेको छ । संस्थाहरूले नेटवर्क, प्रणाली र सिस्टमलाई सुरक्षित रहेको प्रत्याभूति दिनुपर्नेछ । ग्राहकले गरेको कारोबार एउटा संस्थाबाट अर्को संस्थामा जाने भएकाले सूचना तथा तथ्यांकलाई सुरक्षित रूपले व्यवस्था मिलाउन भनिएको हो । यसले नेपाल क्यूआरमा आबद्ध कम्पनीबीचको कारोबार पारदर्शी बनाउने केन्द्रीय बैंकको अपेक्षा छ ।
संस्थाहरूले क्यूआर कोडमा हुने कारोबारको राफसाफ, जोखिमलाई समाधान गर्ने उपाय, ग्राहकका गुनासालगायतलाई सम्बोधन गर्न व्यवस्था गर्नुपर्ने छ । क्यूआर कोड कारोबारका लागि बजारमा ल्याएर मात्र नहुने भएकाले यसलाई सर्वसाधारणसमक्ष पुर्याउन बढीभन्दा बढी जनचेतना बढाउन केन्द्रित हुनुपर्ने मार्गदर्शनमा उल्लेख छ । ‘प्रणाली ल्याएर मात्र हुँदैन । ग्राहकले सुरक्षित भएर प्रयोग गर्नुपर्यो,’ उनले भने ।
क्यूआर कोर्ड इस्यू गर्ने संस्थाहरूले स्पेसिफिकेशनमा रहेर व्यवस्था गर्नुपर्नेछ । यसो गरे एउटा संस्थाले जारी गरेको क्यूआर अर्को संस्थाको क्यूआरले रिड गर्न सक्छ । यसले गर्दा ग्राहकले सामान किनेपछि आफ्नो खातामा रहेको रकमबाट पसलेको खातामा ट्रान्सफर गर्न सहज हुन्छ । आर्थिक अभियन दैनिकबाट