अष्ट्रेलियालाई ७ विकेटले पराजित गर्दै न्युजिल्यान्डद्वारा सिरिज कब्जा

207

वेलिङटन । अष्ट्रेलियाविरुद्धको निर्णायक टी-२० क्रिकेटमा न्युजिल्यान्ड विजयी भएको छ । जितसँगै न्युजिल्यान्डले पाँच खेलको टी-२० सिरिजमा ३-२ले कब्जा जमाएको छ ।

आइतबार सम्पन्न खेलमा अष्ट्रेलियाले दिएको १ सय ४३ रनको लक्ष्य घरेलु टोली न्युजिल्यान्डले १५.३ ओभरमा ३ विकेटको क्षतिमा भेट्टाउँदै ७ विकेटको जित हासिल गरेको हो ।

न्युजिल्यान्डको जितमा मार्टिन गुप्टिलले ७१ रनको योगदान दिए । राम्रो सुरुवात गरेको न्युजिल्यान्डका गुप्टिल र डेभोन कोन्वेले पहिलो विकेटको रुपमा १ सय ६ रनको साझेदारी गरे । ४६ बल खेलेका गुप्टिलले ४ छक्का र ७ चौकाको मद्धतमा ७१ रन बनाए । यस्तै, कोन्वेले ३६ रन जोडे ।

ग्लेन फिलिप्सले ३४ रनको पारी खेल्दा कप्तान केन विलियम्सन शून्य रनमा आउट भए ।

वेस्टप्याक स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४२ रन बनाएको थियो । खराब सुरुवात गरेको अष्ट्रेलियाका आरोन फिन्च र म्याथ्यू वेडले ६६ रनको साझेदारी गर्दै सम्मानजनक योगफलतर्फ डोहोर्याए । वेड ४४ तथा फिन्च ३६ रनमा आउट भए ।

यस्तै, मर्कूस स्टोइनिसले २६ तथा मिचेल मार्शले १० रन बनाउँदा एस्टोन अगर ६, झाइ रिचर्डसन ४, जोस फिलिप्प २ तथा ग्लेन म्याक्सवेल १ रनमा आउट भए ।

न्युजिल्यान्डका इश सोधीले ३, ट्रेन्ट बोल्ट र टिम साउथीले समान २-२ विकेट लिए । आजको खेलका ७१ रन बनाएको गुप्टिल म्यान अफ द म्याच तथा पाँच खेलमा १२.०८को औषतमा १३ विकेट लिएका इश सोधी म्यान अफ द सिरिज भए ।

जितसँगै न्युजिल्यान्डले अष्ट्रेलियाविरुद्धको टी-२० सिरिज ३२ ले आफ्नो पक्षमा परेको छ । पहिलो र दोस्रो ५३ र ४ रनले जितेको न्युजिल्यान्ड तेस्रो र चौथो खेलमा ६४ र ५० रनले पराजित भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...