योगेश भट्टराईको दाबी : ‘एक-दुई हप्तामै नयाँ सरकार बन्छ’

383

हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले छिट्टै नयाँ सरकार बन्ने बताएका छन् । प्रतिनिधिसभा बैठक प्रारम्भ भएको एक–दुई साताभित्रै नयाँ सरकार बन्ने प्रक्रिया सुरू हुने उनको दाबी छ ।

प्रेस संगठन नेपाल, बागमती प्रदेशको दोस्रो भेलालाई सोमबार हेटौंडामा संवोधन गर्दै नेता भट्टराईले छिट्टै नयाँ सरकार बन्ने र त्यसको नेतृत्वदायी भूमिकामा नेकपा हुने बताएका हुन् । प्रतिगमनविरुद्धको आन्दोलनको प्रमुख नेतृत्व आफ्नो पार्टीले गरेको भन्दै उनले आफ्नै पार्टीको नेतृत्वमा नयाँ सरकार गठन प्रक्रिया अगाडि बढ्ने उनले बताए ।

“अब छिट्टै नयाँ सरकार बन्छ । प्रधानमन्त्रीको कदमलाई सर्वोच्चले असंवैधानिक भनिसकेपछि केपी शर्मा ओली प्रधानमन्त्रीमा बस्न मिल्दैन,” नेता भट्टराईले भने, “एक–दुई हप्तामा नयाँ सरकार गठन प्रक्रिया अगाडि बढ्छ, त्यसको अगुवाई हाम्रो पार्टीले गर्छ ।”

उनले जनताको मत नेकपाले पाएको र केपी ओली असफल भए पनि नेकपा असफल नभएको बताए । उनले आफ्नो पार्टीको अगुवाइमा बन्ने सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन गर्ने गरी बनेको कानुनलाई सच्याउने बताए। “हाम्रो पार्टी आलोचनात्मक टिप्पणी चाहन्छ । सरकारी सञ्चारमाध्यमलाई पनि सरकारको आलोचनात्मक टिप्पणी गर्ने बनाउन चाहन्छ,” उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...