प्रधानमन्त्रीको आज पोखरा जाँदै, यस्तो छ कार्यतालिका

523

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदैछन् । नेकपाको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली सोमबार पोखरा जान लागेका हुन् । बिहान ११ः४० मा यति एयरलाइन्सको जहाजमार्फत पोखरा जाँदैछन् ।

प्रधानमन्त्री ओली आइतबार पोखरा विमानस्थलमा अवतरणपछि नदीपुरस्थित गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि दिउँसो १ बजे पार्टीको प्रदेश कमिटीले पोखरा सभागृहमा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता भेलामा सहभागी हुनेछन् । कार्यकर्ता भेलालाई सम्बोधनपछि प्रधानमन्त्री ओली पोखरा रङ्गशाला जाने कार्यक्रम तय भएको छ ।

ओलीले पोखरा रङ्गशालाभित्र निर्माणाधीन अन्तर्राष्ट्रिय फुटबल रङ्गशालासहित भलिबल कोर्ट, क्रिकेट मैदान, ब्याडमिन्टन हल, बहुउद्देश्यीय कभर्ड हल, टेनिस कोर्ट लगायतका खेल पूर्वाधारको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकुदका लागि अत्यावश्यक स्वीमिङ र सुटिङका पूर्वाधार हालसम्म निर्माण सुरु नभएकाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराइने राखेप सदस्य राजेश राजेश गुरुङले बताए । यसअघि पोखरामा १३औँ सागका केही खेल भव्यताका साथ सम्पन्न भएकोमा प्रधानमन्त्रीको निर्देशनपछि राष्ट्रिय खेलकुदको भव्य तयारीका लागि सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रधानमन्त्री ओली रङ्गशाला आउने कार्यक्रम तय भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, राखेप सदस्य सचिव सिलवाल, राखेप सदस्य राजेश गुरुङ तथा जिल्लास्थित प्रशासनिक तथा सुरक्षा निकायका प्रमुखले आइतबार साँझ पोखरा रङ्गशालाको निरीक्षण गरेका थिए ।

प्रधानमन्त्रीको स्वागतका लागि पोखरा रङ्गशालाका विभिन्न स्थानमा स्वागतद्वारसहित राष्ट्रिय झन्डाले रङ्गशाला सिंंगारिएको छ । प्रधानमन्त्री ओली आजै काठमाडौं फर्किने छन् ।

Share This:
सम्बन्धित खबर
Loading...