अर्ध वार्षिक समीक्षा : २०८० सम्म गण्डकी प्रदेशकै उत्कृष्ट सञ्चारगृह बनाइने

200

बागलुङ । सूचना र सञ्चारसँगै वित्तीय कारोबार गर्दै आइरहेको आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको अर्धवार्षिक समीक्षा तथा आगामी योजना सम्बन्धी छलफल कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

संस्थाका सञ्चालक र लेखा समितिका पदाधिकारी तथा सदस्य, सल्लाहकार, उपसमितिका सदस्य र कर्मचारीको सहभागितामा सम्पन्न कार्यक्रममा आर्थिक वर्ष २०७७/७८ को अर्धवार्षिक अवस्था र आगामी योजनाका बारेमा छलफल भएको थियो ।

२०८० सालसम्म गण्डकी प्रदेशको उत्कृष्ट सहकारी संस्था तथा सवल सञ्चारगृहकारुपमा स्थापित गर्ने रणनीतिक योजनाका साथ अगाडि बढेको संस्थाले लक्ष्यअनुसार नै प्रगति गर्दै गएको सो अवसरमा जानकारी गराइएको थियो ।

कोरोना संक्रमणका कारण गत आर्थिक वर्षको अन्तिम र चालु आर्थिक वर्षको सुरुमा केही समस्या भए पनि संस्थाले १० वर्षे रणनीतिक योजनाअनुसार नै वार्षिकरुपमा प्रगति गरेको र यस आर्थिक वर्षको ६ महिनामा लक्ष्यअनुसार नै काम गर्न सफल भएको संस्थाका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) ले जानकारी दिइन् ।

संस्थाको रणनीतिक योजनाअनुसार चालु आर्थिक वर्षको अन्त्यसम्म २ हजार ७ सय जना सेयर सदस्य, ५ करोड ८५ लाख सेयर पूँजी, ४० करोड वचत, ३८ करोड कर्जा लगानी र ५० करोड कुल सम्पत्ती पुर्याउने लक्ष्य लिएकोमा हाल २ हजार ५ सय जना सेयर सदस्य, ३३ करोड सेयर पूँजी, ३१ करोड कर्जा लगानी र ४० करोड कुल सम्पत्ती रहेको छ ।

संस्थाको रणनीतिक योजनाअनुसार २०८० सालको असार मसान्तसम्ममा संस्थालाई गण्डकी प्रदेशको उत्कृष्ट सञ्चार गृहकारुपमा स्थापित गर्ने, ५ हजार भन्दा बढी सेयर सदस्य, १० करोड सेयर पूँजी, ८० करोड वचत, ७५ करोड कर्जा लगानी र १ अर्बको कुल सम्पत्ती पुर्याउने लक्ष्य रहेको अध्यक्ष जिसीले जानकारी दिए ।

सहकारीलाई व्यवस्थितरुपमा सञ्चालन गर्न तथा संस्थाको योजना र लक्ष्य पुरा गर्नका लागि सञ्चालक समिति, लेखा समिति, उपसमिति र कर्मचारीहरुको भूमिका प्रभावकारी हुनु पर्ने र त्यसका लागि शिक्षा, तालिम, समीक्षा, अन्तरक्रिया तथा छलफल कार्यक्रम निरन्तर आवश्यक रहेको जिसीको भनाइ छ ।

अर्धवार्षिक समिक्षाको उद्घाटन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)का सञ्चालक कमला गिरीले गरेकी थिइन् । सो अवसरमा बोल्दै उनले सहकारी संस्थालाई प्रभावकारी रुपमा सञ्चालनका लागि नीति, विधि र प्रविधिको प्रयोगसँगै कर्मचारी र सञ्चालकहरुको सक्रियता आवश्यक रहेको बताइन् । सञ्चालक र कर्मचारीले आफ्नो जिम्मेवारी सदैब बोध गर्न सकेमा मात्रै सहकारीले लक्ष्य अनुसार प्रगति गर्न सक्ने भएकाले उनीहरुको क्षमता विकासका लागि संस्थाको योजना आवश्यक रहेको बताइन् ।

कार्यक्रममा सिजना महिला बचत तथा ऋण सहकारी संस्था पोखराका अध्यक्ष पवित्रा केसी, राष्ट्रिय सहकारी बैंक पोखरा शाखाका प्रमुख नरेश पाण्डे लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्थाको वित्तीय लगायत समसामयिक अवस्था, र रणनीतिक योजना अनुसार यस आर्थिक वर्षका लक्ष्य तथा प्रगति र गर्नुपर्ने कामका विषयमा संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहजीकरण गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...