नेकपा आधिकारिकता विवादमा आयोगले तत्काल निर्णय गर्नुपर्छ : प्रवक्ता श्रेष्ठ

155

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले निर्वाचन आयोगको भूमिकाप्रति असन्तुष्टि जनाएको छ ।

प्रचण्ड-माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संगठनात्मक निर्णय अध्यावधिक गर्न अनुरोध गर्दा विवाद निरुपणको प्रक्रियामा आउन बाध्य बनाएको बताए । त्यसअनुसार आधिकारिता विवाद निरुपण गर्न आग्रह गर्दा निर्णय नदिएको समूहका प्रवक्ता श्रेष्ठको भनाइ छ ।

सर्वोच्च अदालतले दवाव, धम्की र प्रतिगामी षड्यन्त्रलाई चिर्दै संविधान र लोकतन्त्रको पक्षमा ऐतिहासिक फैसला गरेको उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘निर्वाचन आयोग के गर्दैछ ? सर्वोच्च अदालतमार्फत पूरा हुन नसकेको प्रतिगामी योजनाको सेवामा के निर्वाचन आयोग प्रयोग होला त ?’

‘अदालतले दिएको सकारात्मक निकासलाई कार्यान्वयन हुनबाट रोक्ने हतियार निर्वाचन आयोग बन्ला त ? संविधानलाई बचाउने अदालतको फैसलालाई निष्प्राण बनाउँदै संविधान र कानुनलाई नाङ्गै लत्याउने काम निर्वाचन आयोगबाट होला त ? अहिलेको सर्वाधिक सार्वजनिक सरोकारका प्रश्न हुन् ।’ उनले लेखेका छन् ।

निर्वाचन आयोगले संविधान र कानुनसम्मत ढङ्गले सहज निर्णय नगर्दा यस्तो प्रश्न उठेको प्रवक्ता श्रेष्ठको भनाइ छ । यद्यपि आफूहरुले अहिले नै त्यसरी नसोच्ने भन्दै उनले भनेका छन्, ‘निर्वाचन आयोगले संविधान र कानुनका आधारमा स्वतः स्पष्ट यस विषयमा छिट्टै निर्णय दिनेछ भन्नेमा हामी विश्वास गर्दछौँ ।’ प्रतिनिधिसभा बैठकको मितिसमेत तय भइसकेकाले आयोगले तत्काल निर्णय गर्नुपर्ने प्रवक्ता श्रेष्ठले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...