मातृभाषा राष्ट्रिय कविता महोत्सव–२०७७ भव्यताका साथ सम्पन्न

298

काठमाडौं । अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२१ को उपलक्ष्यमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा युनेस्को काठमाडौंसँगको सहकार्यमा मातृभाषा राष्ट्रिय कविता महोत्सव–२०७७’ भव्य रुपमा आयोजना गरियो । महोत्सवको समुद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले पानसमा दीप प्रज्वलन गरेर गरेका थिए ।

उक्त महोत्सवलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले मातृभाषाहरूको संरक्षण र संवर्द्धनमा राज्य र सबै पक्षले विशेष ध्यान दिनुपर्ने बताए । “हाम्रो मौलिक भाषामा भएको अतिक्रमणलाई स्विकार्न गाह्रो हुन्छ,” उनले भने, “बिस्तारै विभिन्न जातजातिमा मौलिक भाषा बोल्नेको सङ्ख्यामा कमी आइरहेको छ, कतिपय भाषा लोप भइसकेका छन् भने कतिपय लोप हुने अवस्थामा छन्, तिनको संरक्षण गर्नु राज्यको दायित्व हो ।”

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सभाध्यक्षको आसनबाट बहुभाषा, बहुसंस्कृति र बहुलता मुलुकको विशिष्ट पहिचान भएको उल्लेख गर्दै मातृभाषा र मातृभाषा साहित्यको संरक्षण तथा प्रवर्द्धनका लागि प्रज्ञा–प्रतिष्ठान गम्भीरतापूर्वक लागिपरेको बताए । उनले आगामी वर्षमा अझै भव्य र सार्थकरुपमा महोत्सव आयोजना गरिने प्रतिबद्धता प्रकट गरे ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले नेपालको सम्पत्ति भनेकै जातजातिका विविध संस्कार, संस्कृति र मातृभाषा भएको धारणा व्यक्त गरे ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले कविता वाचन सत्रको अन्त्यमा सांस्कृतिक झाँकी प्रस्तुत गर्ने समूहहरू र मातृभाषामा कविता वाचन गर्ने कविहरूलाई प्रमाण–पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागका प्रमुख प्राज्ञ लक्ष्मी मालीले महोत्सव आयोजनाको उद्देश्यमाथि प्रकाश पारिन् । उनले मातृभाषा राष्ट्रिय कविता महोत्सवका लागि ५६ भाषाका १ सय ५४ ओटा कविता आएका र तीमध्ये अतिथि कवितासहित ७० ओटा कविता वाचनका लागि छनोट गरिएको बताइन् । कार्यक्रममा अतिथि कवि रामनारायण देवले मैथिली भाषामा ‘मिथला महान्’ शीर्षकको कविता वाचन गरी कविता महोत्सवको आरम्भ गरेका थिए ।

महोत्सवमा धिमे बाजा– बज्रकला कुञ्ज, च्याबु्रङ– याक्थुम केलाङ सयङ, सखिया– चम्पन सांस्कृतिक समूह, शेर्पा– हिमालयन शेर्पा सांस्कृतिक कला केन्द्र, सेमुना साकेन्वा–सेमुना साकेन्वा सांस्कृतिक समाज (बान्तावा राई), धिमाल–धिमाल जाति विकास केन्द्र, नेपाल, घले– लिल फङ, देउडा– सैपाल सांस्कृतिक कला केन्द्र, हुर्रा– मगर हुर्रा तथा संस्कृति संरक्षण केन्द्र, साकेला– किरात राई यायोक्खा, काठमाडौं (किरात राई), गुरुङ– अठार सय तमु समाज, गोरखा, होरी– भोजपुरी प्रज्ञा प्रतिष्ठान, केइ लाक्मा– किरात याक्खा छुम्मा, काठमाडौँ, तामाङ– ताम्बा सङ्घ, नेपाल, सुनुवार– सुनुवार सेवा समाज र दुरा– दुरा सेवा समाजले सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मुलुकभरिको प्रतिनिधित्व गरी आएका जातजाति एवम् मातृभाषी समूहको पहिचानसहितको भेषभूषा र सांस्कृतिक विशेषता झल्कने १६ ओटा समुदायका बाजागाजासहितको सांस्कृतिक झाँकी प्रदर्शन गरिएका थिए ।
उद्घाटन सत्रको कार्यक्रम प्राज्ञ शशी लुमुम्बू र कविता वाचन सत्र महोत्सव तयारी उपसमितिका सहसंयोजक पदम राईले सञ्चालन गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...