स्याङ्जा । कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्मा अर्यालले ओली सरकारले गरेको विकासको गति आफ्नै गाउँठाउँमा हेर्न आग्रह गरेकी छन् । ओली सरकारले केही गरेन भन्नेहरुलाई लक्षित गर्दै मन्त्री अर्यालले सोमबार गृहजिल्ला स्याङ्जामा त्यस्तो बताइन् ।
स्याङ्जा र पाल्पा जोड्ने मोटरेबल पुलको शिलन्यास गर्दै मन्त्री अर्यालले विकास हेर्न टाढा जान नपर्ने बताएकी हुन् । मन्त्री अर्यालले भनिन्, ‘यो ३ वर्षमा विकास कति भयो आफैँ उभिएको ठाउँमा हेर्नुस् । नेपालका ७ सय ५३ स्थानीय तहहरुमा विकासको गति विगतभन्दा तीव्र अगाडि छ ।’ दिनलाई रात बनाउन दुश्साहस गर्नेहरुले सरकारले गरेका विकासको गति हेर्न सक्नुपर्ने उनले बताइन् ।
‘हरेक पालिकामा बृहत् खानेपानी योजना सुरु भएका छन् । यहीँ सरकारको कार्यकालमा देशका ३ सय ९६ स्वास्थ्य केन्द्रहरुको शिलन्यास भएका छन् तिमध्ये केही सकिए केही निर्माणाधिन छन्’, उनले भनिन् । सहज स्वस्थ्य सेवा जनताको पहुँचमा पुर्याउन होस् वा स्वच्छ पिउने पानी घर–घरमा पुर्याउन सरकार जनतासँग प्रत्यक्ष जोडिएको मन्त्री अर्यालको भनाइ थियो ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका र पाल्पाको बगनासकाली गाउँपालिका दपुर जोड्ने कालीगण्डकी नदी मोटरेबल पुलको उनले शिलन्यास गरेकी हुन् । २०७७ भदौ १ गते सम्झौता गरिएको मोटरेबल पुल सम्झौताको ३३ महिनामा सक्नुपर्ने समयसीमा रहेको छ । गौरी पार्वती न्यू टेक्निकल जेभी कुपनडोलले निर्माणले जिम्मा लिएको पुल पिएस र भ्याटसहित १५ करोड ३९ लाख २८ हजार ६ सय ७९ रुपैँया ५० पैसामा सम्झौता भएको हो ।
१.७५ दयाँबायाँ फुटपाथ रहने पुल ११ मिटरको चौडाइ रहने छ । १२० मिटर लम्बाइको पुल २ स्पान रहने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख भिमअर्जुन कँडेलले जानकारी दिए । ओपन फाउण्डेसनमा बन्ने पुल योजना पश्चिम क्षेत्र सेक्टर नम्बर ४ पाल्पाले हेर्नेछ ।