पार्टी विभाजन र एकता इतिहासको पुनरावृत्ति : मन्त्री अर्याल

175

स्याङ्जा । कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्‍मा कुमारी अर्यालले नेकपा विघटन कुनै नौलो कुरा नभइ इतिहासको पुनरावृत्ति भएको बताएकी छन् ।

आइतबार गण्डकी र लुम्बिनी प्रदेश जोड्ने सडक कालोपत्रको शुभारम्भ गर्दै मन्त्री अर्यालले पार्टी फुट्ने र जुट्ने कार्य कुनै नौलो नभइ इतिहासको संस्करण भएको बताएकी हुन् ।

‘पहिलो कुरा नेकपा फुटेको छैन । पार्टी विभाजन र एकता कुनै नौलो होइन । इतिहासको पुनरावृत्ति हो’, मन्त्री अर्यालले भनिन्, ‘यसलाई व्यवस्थित ढङ्गले लैजान सम्माननीय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष लाग्नुभएको छ ।’

अहिलेको नेकपा घटनालाई व्यवस्थापन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली प्रतिबद्ध भएर लागिरहेको मन्त्री अर्यालको भनाइ थियो ।

निर्वाचनमा मुलुक अगाडि बढिसकेको भन्दै उनले पार्टी औपचारिकरुपमा नफुटेको र एउटै रहेको बताइन् । उनले भनिन्, ‘प्रधानमन्त्रीले आग्रह गरिरहनुभएको छ । मुलुक निर्वाचनमा अगाडि बढिसक्यो, आउनुस मिलौँ निर्वाचनमा जाऔँ, अब सडकमा होइन निर्वाचनमा तयारीमा लागौँ ।’

देशमा अशान्ति फैलाउन खोज्ने पार्टीलाई समेत संविधानको मूलधारमा ल्याउन सरकार लागिपरेको भन्दै उनले सिके राउतलाई ल्याइसकेको र अर्को पार्टीलाई समेत ल्याउने प्रयास भइरहेको बताए ।

यसैबीच स्याङ्जाको सिद्धार्थ राजमार्गसँग जोडिएका आधा दर्जन सडक पिच भएको मन्त्री अर्यालले दाबी गरेकी छन् । आइतबार वालिङ, भुम्रे, डुम्रेभञ्याङ, बानीडाँडा हुवास हुँदै लुम्बिनी प्रदेशको गुल्मी जोड्ने सकड कालोपत्र शिलन्यास गर्दै मन्त्री अर्यालले यस्तो दाबी गरेकी हुन् ।

राजमार्गसँग जोडिएका आधा दर्जन भित्री सडकहरु यो ३ वर्षमा पिच भएको उनले दाबी गरेकी हुन् । ‘हामी तथ्य, प्रमाणमा टेकेर बोल्छौँ । स्याङ्जाका आधा दर्जन भित्रि सडक पिच गरिएको छ’, उनले भनिन्, ‘केही हुँदैछन । विकास भएको छ । जनताले विकासको अनुभूत गरेका छन ।’

गल्याङ, चापाकोट, सडक, अर्जुनचौपारी घण्टे सडक, प्याराग्लाईडिङ स्थल स्वरेक मैदान जाने बयरघारी बगरेबजार र अर्को वालिङ डौँवालगायतका सडक पिस भएको उनको भनाइ छ । आइतबार नै मन्त्री अर्यालले पेलाकोट पिडिखोला सडकको समेत कालोपत्र शिलन्यास गरेकी छन् ।

Share This:
सम्बन्धित खबर
Loading...