काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका प्रदेश नम्बर एक इञ्चार्ज भीम आचार्यले मुख्यमन्त्री शेरधन राईलाई प्रदेशसभा भंग गरेर देखाउन चुनौती दिएका छन् ।
शनिबार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आचार्यले कथित दलको विधानको हवाला दिएर मुख्यमन्त्री राईले सभामुख, उपसभामुख र सांसदलाई प्रदेशसभा भंग गर्ने भन्दै धम्क्याएको भन्दै यस्तो चुनौती दिएका छन् ।
आचार्यले अविश्वासको प्रस्तावबाट डराएर भागेर ओली समूहले धम्क्याउने काम गरिरहेको बताए । उनले अल्पमतमा परिसकेका मुख्यमन्त्री राई अब धेरै दिन भाग्न नसक्ने टिप्पणी गरे ।
आचार्यलाई मुख्यमन्त्रीको उम्मेरदवार बनाएर प्रचण्ड–नेपाल समूहले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएको छ । तर राईले नेकपा कानुनीरुपमा विभाजित नभएको भन्दै अविश्वासको प्रस्तावको वैधतामाथि प्रश्न उठाएका छन् ।