सुवास नेम्वाङको दाबी : ‘प्रधानमन्त्री ओली विघटनको पक्षमा फैसला आउनेमा २०० प्रतिशत विश्वस्त हुनुहुन्छ’
विराटनगर । संविधानसभाका अध्यक्ष तथा केपी ओली समूहका नेकपा नेता सुवासचन्द्र नेम्वाङले गुमेको भू–भाग फिर्ता ल्याउन खोज्दा पार्टीभित्रबाटै प्रधानमन्त्री ओलीलाई अवरोध भएको आरोप लगाएका छन् ।
शनिबार प्रदेश राजधानी विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै नेम्वाङले सो बताएका हुन् । उनले संसदबाट दुई तिहाइ बहुमतको सरकारलाई काम गर्न नदिइएपछि ताजा जनादेशमा जानुपरेको दाबी गरे ।
“जनता दूधका दूध पानीका पानी छुट्याउन चाहन्छ, जनताले फैसला गरिसकेको छ, हामीले सर्वोच्च अदालतको निर्णयलाई कुरेर बसेका छौँ ।”
नेम्वाङले अदालतले फागुन १५ भित्रमा प्रतिनिधिसभा विघटनलाई सदर गर्दै आफ्नो फैसला दिने दाबी गरे । उनले भने, “म त कानुनको विद्यार्थी भएकाले फैसलाअघि केही टिप्पणी गर्न चाहन्न । तर, हाम्रो प्रधानमन्त्री शतप्रतिशत विश्वस्त हुनुहुन्छ प्रतिनिधिसभा विघटन सदर हुन्छ भन्नेमा । अनि मलाई उहाँप्रति साह्रै विस्वास छ ।”
उनले भने, “प्रधानमन्त्री ओलीले भन्नुभएको छ कि संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीको हो र लोकतन्त्रका लागि जतनामा जानका लागि संसद विघटन गरेको हुँ र आफ्नो पक्षमा फैसला हुन्छ भनि प्रधानमन्त्री ओली १ सयमा २ सय प्रतिशत विश्वस्त रहनु भएको छ ।”
देश चुनावमय भइसकेको दाबी गर्दै उनले अदालतको निर्णय आउने वित्तिकै सबै दल चुनावको तयारीमा लाग्ने बताए ।