काठमाडौं । सशस्त्र प्रहरी बलको टोली एपिएफ क्लबले राजधानीमा जारी राष्ट्रिय महिला लिगको च्याम्पियन बनेको छ । शुक्रबारको खेलमा नेपाल आर्मी फुटबल क्लबमाथि ३-० को जित हात पार्दै प्रतियोगितामा अपराजित रह्यो ।
एपिएफले अन्तिम खेलमा आर्मीलाई पराजित गर्दै १२ खेलसम्म अपराजित रह्यो । आर्मीमाथिको जितमा सुरु लिम्बूले २ र अनिता केसीले एक गोल गरिन् ।
एपिएफले पहिलो हाफको ४५औँ मिनेटमा सरु लिम्बूको गोलबाट पहिलो हाफमा १-० को अग्रता लियो । यस्तै दोस्रो हाफको ८६औँ मिनेटमा अनिता केसीले गोल गर्दै अग्रता दोब्बर बनाइन् ।
इन्जुरी समयमा सरु लिम्बूले व्यक्तिगन दोस्रो गोल तथा टोलीको लागि तेस्रो गोल गर्दै जित सुनिश्चित गरिन् ।
प्रतियोगिता अवधिभर कुल ७७ गोल गरेको एपिएफले एक गोलमात्र बेहोर्यो ।
च्याम्पियन बनेको एपिएफले १५ लाख प्राप्त गरेको छ भने दोस्रो स्थानमा रहेको आर्मीले ८ तथा तेस्रो स्थानको नेपाल पुलिस क्लबले ५ लाख हात पार्यो । यस्तै, चौथो स्थानमा रहेको वालिङ नगरपालिकाले ३ लाख पायो ।
प्रतियोगितामा तीन विभागीय टोली नेपाल आर्मी फुटबल क्लब, एपिएफ क्लब, पुलिस क्लब, वालिङ नगरपालिका, चौदण्डीगढी नगरपालिका, चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिका गरी सात टोली सहभागी भएका थिए ।