मेलबर्न । अमेरिकी जेनिफर ब्राडी अष्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेकी छन् । बिहीबार रोड लेवर एरिनामा भएको दोस्रो सेमिफाइनलमा चेक गणतन्त्रकी २५औँ वरियातकी क्यारोलिन मुचोभालाई २–१ को सेटमा पाखा लगाउँदै फाइनलमा जापानी नाओमी ओसाकासँगको भेट पक्का गरेकी हुन् ।
विश्व नम्बर एक अशलेग बार्टीलाई क्वाटरफाइनलमा पराजित गर्दै सेमिफाइनलमा पुगेकी क्यारोलिनलाई जेनिफरले पहिलो सेटमा ६–४ तथा तेस्रो सेटमा ६–४ ले पराजित गरिन् ।
क्यारोलिनले दोस्रो सेट ६–३ ले आफ्नो पक्षमा पारेकी थिइन् ।
जेनिफरले क्वाटरफाइनलमा आफ्नै देशकी जेसिका पेगुलालाई ४–६, ६–२ र ६–१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकी थिइन् ।
जेनिफरले अष्ट्रेलियन ओपनको उपाधिका लागि तेस्रो वरियताकी जापानी खेलाडी नाओमी ओसाकासँग शनिबार प्रतिस्पर्धा गर्नेछिन् ।
पहिलो सेमिफाइनलमा नाओमीले सेरेना विलियम्सलाई ६–३ र ६–४ को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेकी थिइन् ।