प्रतिनिधिसभा विघटनपछि जनतामा निराशा र आक्रोश : उपराष्ट्रपति पुन (पूर्णपाठ)

163

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले प्रतिनिधिसभा विघटनपछि जनतामा निराशा र आक्रोस छाएको बताएका छन् ।

पुस ५ गते प्रतिनिधिसभा विघटनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका उपराष्ट्रपति पुनले जनतामा निराशा र आक्रोश छाउनु देशका लागि राम्रो संकेत नभएको स्पष्ट पारे ।

नेपाल पत्रकार महासंघको २६औँ महाधिवेसनको उद्घाटन गर्दै उनले देशमा अहिलेको परिस्थिति सिर्जना हुने दुःखद भएको बताए ।

नयाँ संविधान कार्यान्वयनको प्रारम्भिक चरणमै संविधानमाथि प्रहार गरियो, देशलाई भूमरीमा पारियो भनी प्रश्न उठ्ने गरी परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद कुरा भन्दै उनले संविधानको संरक्षण र पालन सबै संघसंस्था तथा आमनागरिकको कर्तव्य भएको बताए ।

उद्घाटन समारोहमा उपराष्ट्रपति पुनको सम्बोधन

नेपालका पत्रकारहरुको छाता संगठन, देशकै पुरानो नागरिक संस्था नेपाल पत्रकार महासंघको २६औँ महाधिवेशनको भव्य उद्घाटन समारोहको अवसरमा नेपाली पत्रकारिता जगतका मुर्धन्य व्यक्तित्वहरुमाझ उपस्थित हुन पाउँदा ज्यादै हर्षित भएको छु । सर्वप्रथमतः म नेपाल पत्रकार महासंघको २६औँ महाधिवेशन र महासंघको सबै तहका संरचनाको आसन्न निर्वाचनको भव्य सफलताको शुभकामना व्यक्त गर्दछु । यस अवसरमा महासंघका पदाधिकारी र आबद्ध सम्पूर्ण पत्रकारहरुमा बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

यहाँहरुमाझ उपस्थित भएर आज मैले एउटा कुरा भन्नैपर्ने हुन्छ, यदि पत्रकारिता जगत र पत्रकारहरुले निर्णायक घडीमा साथ नभएको भए, अगुवाई नगरेको भए आजको यो परिवर्तन असम्भवप्राय थियो । शान्ति स्थापना, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था प्राप्त गर्नु पनि असम्भव जस्तै थियो । यी उपलब्धीहरु दशकौँ लामो क्रान्ति तथा संघर्षबाट नेपाली जनताले प्राप्त गरेका हुन् । संविधानको प्रस्तावनामै उल्लेख गरिएको छ पूर्ण प्रेस स्वतन्त्रता र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको हक पत्रकार र जनताको संघर्षबाट प्राप्त उपलब्धी हुन् ।

नेपाल पत्रकार महासंघले नेपालको पत्रकारिता क्षेत्रको विकास, श्रमजिवि पत्रकारहरुको अधिकारका लागि मात्रै होइन सशक्त नागरिक संस्थाको भूमिकासमेत खेल्दै आएको छ । जनयुद्धको क्रममा नेपाल पत्रकार महासंघ र यसका नेतृत्वकर्ताहरुले शान्ति वार्ताका लागि खेलेको भूमिका स्मरणीय छ । गणतन्त्र प्राप्तीका लागि जनयुद्धमा जतिबेला म सैन्य नेतृत्वमा थिएँ, त्यसै समयमा नेपाल पत्रकार महासंघले नागरिकस्तरबाट औपचारिक रूपमा नै गणतन्त्रको प्रस्ताव गरेको निर्णय सार्वजनिक गर्दा हामी निकै हर्षित भएको मैले विशेष स्मरण गरिरहेको छु । गणतन्त्रका लागि जनता जगाउने नेपाल पत्रकार महासंघको त्यो ऐतिहासिक निर्णयप्रति उच्च सम्मानका साथ महासंघलाई विशेष धन्यवाद दिन चाहन्छु । नेपालको राजनीतिक परिवर्तनका लागि पत्रकारहरुले खेल्नुभएको भूमिकाको म यस अवसरमा मुक्तकण्ठले प्रशंसा गर्दछु ।

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालाई सार्वभौम संविधानसभाबाट बनेको संविधानले संस्थागत गरेको छ । संविधानको प्रस्तावना मै पूर्ण प्रेस स्वतन्त्रता लेखिएको छ र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको हकको सुनिश्चिता गरिएको छ । संविधान र कानूनको पालन गर्नु तपाईं हामी सबै नागरिकको कर्तव्य हो ।

देश अहिले राजनीतिक संकटको भूमरीमा छ । प्रतिनिधिसभा विघटन गरिएको छ । यसको विरोध र समर्थनमा प्रदर्शन भइरहेका छन् । नागरिकस्तरबाट गणतन्त्रको प्रस्ताव गर्ने पहिलो संस्था नेपाल पत्रकार महासंघको तर्फबाट तपाईंहरुले प्रतिनिधिसभा विघटन भएकै दिन यसलाई ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था र संविधानको संवैधानिक व्यवस्थाविरुद्ध’ भन्नु भएको छ । पूर्वप्रधानन्यायधीशहरु, पूर्वन्यायधीशहरु, संविधानविद्हरु, नागरिक समाज, प्राय राजनीतिक पार्टीहरु, संघ संस्थाहरुका साथै अधिकांश तपाईं पत्रकार मित्रहरुले पनि प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनिरहनुभएको छ ।

नेपाली जनता राजनीतिक स्थायित्व, समृद्धि, विकास निर्माण, आर्थिक सामाजिक जीवनमा परिवर्तनका साथै संविधानको पालन, संरक्षण र संविधान प्रदत्त अधिकार प्रयोग गर्न चाहन्छन् । प्रतिनिधिसभा विघटनपछि गहिरिदो राजनीतिक संकटबाट जनतामा निराशा र आक्रोस छाएको छ ।

जनतामा निराशा र आक्रोस छाउनु देशका लागि राम्रो संकेत होइन । नयाँ संविधान कार्यान्वयनको प्रारम्भिक चरणमै संविधानमाथि प्रहार गरियो, देशलाई भूमरीमा पारियो भनी प्रश्न उठ्ने गरी परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद कुरा हो । संविधानको संरक्षण र पालन सबै संघ संस्था तथा आम नागरिकको कर्तव्य हो ।

तपाईं पत्रकार मित्रहरुलगायत नेपाली जनताले लामो वलिदानीपूर्ण संघर्षबाट प्राप्त परिवर्तनकारी उपलब्धीको रक्षाका लागि पत्रकारहरु तथा जनताको विशिष्ट भूमिका रहन्छ । सधै परिवर्तनको पक्षमा उभिनेमात्रै होइन, त्यसबारेमा आमजनतालाई सु–सूचित गर्दै आउनुभएका पत्रकार मित्रहरु र पत्रकार महासंघले संविधानको संरक्षणका लागि स्पष्ट दृष्टिकोणका साथ खेलिरहेको भूमिकाप्रति म स्रहाना व्यक्त गर्दछु । संघर्षबाट प्राप्त परिवर्तनको रक्षाका लागि सबैभन्दा पहिले संविधानलाई स्वस्थ राखी त्यसको पालन र संरक्षण जरुरी छ । यसतर्फ म सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।

कानून बनाउँदा प्रेसमैत्री बनेनन् र विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजियो भन्ने तपाईंहरुका गुनासा मैले पनि सुनेको छु । संविधानले पूर्ण प्रेस स्वतन्त्रता र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरिसकेकाले संविधान बमोजिम बन्ने अन्य कानूनहरु पनि प्रेसमैत्री र विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित नगर्ने गरी बन्ने कुरामा मेरो विश्वस्त छु ।

अर्कोतर्फ, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता लगायतका विषयमा सञ्चार जगतले ध्यान दिनुपर्ने कुराहरु संविधानले नै प्रष्ट पारेको छ । र, पत्रकारहरु आफैले आफ्ना लागि आचारसंहिता पनि बनाइएको सन्दर्भमा कानुनहरु प्रेसमैत्री बनाउन म सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छु ।

आम नागरिकलाई सत्य र तथ्यको आधारमा सहि सूचना प्रवाह गर्ने, विवेकले भरिपूर्ण प्रतिपक्षीको भूमिका निर्वाह गर्ने, सधै अग्रगमनको पक्षमा उभिने, चुनौतीपूर्ण र संवेदनशील क्षेत्रमा काम गर्ने तपाईं पत्रकार साथीहरुले विभिन्न समस्या भोगिरहनु भएको छ । पत्रकारहरुले न्यूनतम पारिश्रमिकसमेत पाउन नसकेको गुनासाहरु आइरहेका छन् । जनतालाई सु–सूचित गर्दै नागरिक अधिकारको पक्षमा उभिने, लोकतन्त्रको पहरेदारी गर्ने क्षेत्रमा नयाँ पुस्तालाई आकर्षित गर्नका लागि पनि पत्रकारहरुको श्रमको सम्मान हुने अवस्थाको सुनिश्चित गर्न जरुरी छ । म यस अवसरमा श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागू गर्न र साना लगानीका सञ्चार माध्यमको उत्थानका लागि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।

पछिल्ला दिनमा पत्रकारिताप्रति जनगुनासाहरु पनि थपिएका छन् । सूचना र प्रविधिको युगका कारण नागरिकमा चेतनाको अभिवृद्धि भएको छ । सामाजिक सञ्जालको प्रयोग उच्च छ । पत्रकारिता क्षेत्रमा के भइरहेको छ ? नागरिक तुरुन्तै सामाजिक सञ्जालबाट जवाफ दिन सक्ने अवस्थामा पुगिसकेका छन् । हाम्रो पत्रकारिताले कतै विस्वसनीयता गुमाउन थालेको त होइन ? भन्ने प्रश्न पनि उठ्न खोजेको छ ।

ठूला सञ्चार माध्यमहरुमा पनि कहिले काँही धर्म छोडेको जस्तो देखिनु, सिद्धान्तबाट डगमगाउन थालेको जस्तो देखिनु, आशाको सञ्चार गर्ने भन्दा पनि निराशामात्रै बाँडेको जस्तो देखिनु जस्ता प्रश्नहरु जबरजस्त उठ्न थालेका देखिन्छ । मलाई विश्वास छ, यहाँहरुले यसबारेमा गम्भीर मनन् गरिरहनुभएकै छ । यो महाधिवेशनले यस विषयमा समेत छलफल गर्ने मैले विश्वास लिएको छु ।

तपाईंहरु लोकतन्त्रको पक्षमा हुनुहुन्छ । लोकतन्त्रको पक्षमा उभिनेहरुले आन्तरिक लोकतन्त्रमा पनि ध्यान दिनुपर्छ । नेपाल पत्रकार महासंघले पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणाली अंगिकार गरेर प्रत्येक सदस्यले मतदान गर्न पाउने सर्वाधिक लोकतान्त्रिक प्रणाली अवलम्बन गरेको सुन्दा ज्यादै खुशी लागेको छ । तपाईंहरूको यो अभ्यासले लोकतन्त्रको उच्चतम अभ्यास गर्ने संस्थाको रूपमा पनि पत्रकार महासंघको थप परिचय बन्ने मैले विश्वास लिएको छु ।

अन्त्यमा, यो भव्य समारोहमा विभिन्न पत्रकारिता पुरस्कारबाट सम्मानित व्यक्तित्वहरुलाई हार्दिक बधाई दिन चाहन्छु । नेपाल पत्रकार महासंघ र महासंघमा आबद्ध सम्पूर्ण पत्रकारहरुको उत्तरात्तर प्रगतिको शुभकामना । धन्यवाद ।

Share This:
सम्बन्धित खबर
Loading...