अरुण तेस्रो आयोजना र पीडित पक्षबीच १० बुँदे सहमतिपछि काम पुनः सुरु

210

खाँदबारी । सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रोमा टिपरको ठक्करबाट ज्यान गएपछि रोकिएको काम सोमबारदेखि सुरु भएको छ ।

मकालु गाउँपालिका ५ फ्याक्सिन्दाबेसीमा गएको शुक्रबार टिपरको ठक्करबाट खड्गबहादुर राईको ज्यान गएपछि स्थानीयले उचित क्षतिपूर्तिको माग गर्दै आन्दोलन चर्काएपछि काम ठप्प भएको थियो । आइतबार राति अबेरमात्रै आयोजना र पीडित पक्षबीच छलफलपछि पीडित पक्षले चार दिनपछि मृतकको शव बुझेका हुन् ।

मृतक खड्गबहादुरका सालो दीपेन्द्र राईले अरुण तेस्रो आयोजना र पीडित पक्षबीच १० बुँदे सहमति भएपछि मात्रै सोमबार शव उठाएर अत्यष्टि गरिएको बताए । उनकाअनुसार इन्स्योरेन्सबापतको २० लाख रुपैयाँ उपलब्ध गराउने, मृतकका दुई जना छोराछोरीको लालनपालनको सम्पूर्ण खर्च बेहोर्ने र उनीहरुको उच्च शिक्षाका लागि भारतीय राजदूतावासबाट छात्रवृत्ति उपलब्ध गराउने, मृतकका बुबाआमाको भरणपोषणका लागि मुद्दति खातामा १० लाख रुपैयाँ जम्मा गर्ने सहमति भएको छ ।

त्यस्तै मृतकका परिवारबाट दुई जनालाई जेपी कम्पनीमा रोजगारी उपलब्ध गराउने, हेलिकप्टरमार्फत काठमाडौं लगिएकी घाइते प्रेमकुमारीको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने र स्थानीयले उठाएका विभिन्न मागसमेत सम्बोधन गर्ने भनी १० बुँदै सहमति भएको उनले बताए ।

पीडित पक्ष र अरुण तेस्रो आयोजनाका जेपी एसोसिएट कम्पनीबीच मृतकका परिवारलाई ५२ लाख रुपैयाँ उपलब्ध गराउने सहमति भएपछि सोमबारदेखि अरुण तेस्रोको काम सुरु भएको हो ।

बहुचर्चित ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना सङ्खुवासभामा निर्माणाधीन छ । सन् २०२३ भित्र सम्पन्न गर्ने गरी काम अघि बढिरहेको छ । अरुण तेस्रो जलविद्युत् परियोजनामा भारतीय सतलज कम्पनी एसजेभिएनले काम गरिरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...