धरान । मेवाहाङ भाषा पठनपाठन सुरु भएको दोस्रो शैक्षिक सत्रको लागि कक्षा २ को पुस्तक लेखन कार्य सुरु भएको छ । सिलिचोङ गाउँपालिकाको आर्थिक सहयोगमा धरान उपमहानगरपालिका–१८ मा गत शुक्रबारदेखि लेखन कार्य सुरु भएको हो ।
बिहीबारसम्म सञ्चालन हुने पुस्तक लेखनका लागि ७ सदस्यीय विज्ञ टोलीले काम गरिरहेको किराँत मेवाहाङ याखोम्माले जनाएको छ । आगामी शैक्षिक सत्रका लागि गाउँपालिकामा सूचिकृत रोष्टरको संयोजक गणेश मेवाहाङ र दुर्गाकिरण मेवाहाङ सहसंयोजक रहेका छन् ।
बालजीत मेवाहाङ, सुभास मेवाहाङ, सुमन मेवाहाङ, विनोद सिंलेगा मेवाहाङ र बिश्वर सिंह मेवाहाङ रोष्टरको सदस्य रहेको याखोम्माले जनाएकाे छ । रोष्टर टोलीसँगै भाषाविद् पुर्खाहरुसँगै चित्रकार मणि मेवाहाङले पुस्तकका लागि चित्र संयोजन गर्ने रोष्टर टोलीका सदस्य बिश्वर सिंह मेवाहाङले बताए ।
सिलिचोङ गाउँपालिकाले चालु आर्थिक वर्षमा कक्षा २ को पुस्तक लेखन तथा प्रकाशनका लागि ५ लाख बजेट विनियोजन गरेको छ ।
पुस्तक लेखन कार्यको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेलले सोमबार अनुगमन गरेका छन् । चालु शैक्षिक सत्रबाट पहिलो पटक सुरु भएको मेवाहाङ भाषाको स्थानीय पाठ्यक्रम सिलिचोङ गाउँपालिकाको १३ वटा विद्यालयहरुमा पठनपाठन सुरु भइसकेको छ भने मेवाहाङ समुदायको बसोबास रहेको ६ जिल्लामा नै विस्तार गर्दै लगिने याखोम्माका सचिव नरेन्द्र मेवाहाङले बताए ।
सङ्खुवासभा, भोजपुर, इलाम, मोरङ, सुनसरी र काठमाडौं उपत्यकामा १० हजार बढी जनसंख्या रहेको याखोम्माको दावी रहेपनि भाषा आयोगले ४ हजार ८ सय जना र राष्ट्रिय जनगणना २०६८ अनुसार ३ हजार १ सय जना मात्र रहेको जनाएको छ ।
श्रोतः रेडियो सङ्खुवासभा