तुम्लिङ्गटार विमानस्थलको धावनमार्ग मर्मत जारी, साना जहाजले मात्रै उडान भर्दै

267

खाँदबारी । सङ्खुवासभाको एकमात्र विमानस्थल तुम्लिङ्गटार विमानस्थलको धावनमार्ग मर्मतका कारण साना जहाजले मात्रै उडान भरिरहेका छन् ।

गएको शनिबारदेखि आउँदो चैत २ गतेसम्म विमानस्थलको धावनमार्ग मर्मतका लागि ठूला जहाज बन्द गरिएको हो । विमानस्थलको धावनमार्गको कालोपत्रे खाल्डाखुल्डी पर्ने र उप्किएपछि जहाज उडानमा खतरा पर्ने भएपछि मर्मत गर्ने काम सुरु भएको छ । एक वर्षअघि २०७६ चैत ३ देखि धावनमार्ग मर्मत गर्न एपेक्स कन्ट्रक्सन कम्पनीलाई ठेक्का दिए पनि विश्वभर फैलिएको कोरोना भाइरसका कारण काम हुन सकेको थिएन ।

गएको कात्तिकदेखि धावनमार्ग मर्मतको काम सुरु गरिएको एपेक्स कन्ट्रक्सन कम्पनीका प्रतिनिधि लालध्वज लामाले जानकारी दिए । उनले तुम्लिङ्गटार विमानस्थलको धावनमार्गको काम दुई महिनाभित्र सक्ने गरी दिनरात ६० जनाभन्दा बढी कामदार खटाइएको बताए ।

चैत ३ गतेसम्म रनवे मर्मतको काम सक्ने गरी सम्झौता भएपनि फागुन १७ गतेभित्र नै काम सक्ने गरी लागिपरेको उनको भनाइ छ ।

तुम्लिङ्गटार विमानस्थलको धावनमार्गको लम्बाइ एक हजार चार सय २० मिटर लामो रहेको छ । १० वर्षअघि विमानस्थलको धावनमार्ग कालोपत्रे पनि यही कम्पनीले गरेको थियो । त्यसमा अहिले ७ सय मिटर आधा भाग मर्मतको काम भइरहेको छ । त्यसैले साना जहाजले ७ सय मिटरको रनवेमा उडान भर्दै आएका छन् । अहिले दक्षिणतर्फको ७ सय मिटरमा काम भइरहेको र त्यो क्षेत्र सम्पन्न भएपछि उत्तरतर्फको रनवेको काम सुरु हुने समेत लामाको भनाइ छ ।

पूर्णरूपमा जहाज बन्द हुँदा बिरामी र वृद्धवृद्धालाई असहज परिस्थिति सिर्जना हुने भएकाले साना जहाजले दैनिक उडान भर्न थालेको यती एयरलाइन्सका तुम्लिङटार इञ्चार्ज प्रताप गुरुङले जानकारी दिए ।

अहिले तुम्लिङटार विमानस्थलमा यती एयरलाइन्स (१६ सिट भएका), तारा जहाजले उडान भर्दै आएका छन् । त्यस्तै बुद्ध एअर, समिट एअरले दैनिक तुम्लिङटार-काठमाडौं सिधा उडान भर्दै आएको छ भने हप्तामा दुई दिन सोमबार र शुक्रबार तुम्लिङटार-विराटनगरसमेत उडान भर्दै आएको छ । यसअघि यती र बुद्ध एयरलाइन्सका २७ सिटे जहाजले दैनिक तुम्लिङटार–काठमाडौं उडान भर्दै आएका थिए ।

सङ्खुवासभामा सडक यातायातको सुविधा त्यति प्रभावकारी छैन । खाँदबारीदेखि धरान–विराटनगर जाँदा आधाभन्दा बढी भाग कच्ची सडकको यात्रा गर्नुपर्छ । सङ्खुवासभामा ठूला अस्पताल र शैक्षिक संघसंस्था नहुदाँ धरान, विराटनगर र काठमाण्डौ नै धाउनुपर्ने बाध्यता छ । त्यस्तै तुम्लिङटार विमानस्थल सङ्खुवासभाका साथै छिमेकी जिल्ला भोजपुरका षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकालगायतका नागरिकलाई तुम्लिङटारबाट नै विराटनगर र काठमाडौं जान नजिक पर्छ ।

Share This:
सम्बन्धित खबर
Loading...