चिठ्ठा परेको प्रलोभन देखाएर ठगी गर्ने पौडेली झापाबाट पक्राउ

198

झापा । चिठ्ठा परेको भनी प्रलोभन देखाएर ठगी गर्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ । अनलाइनबाट चिठ्ठा परेको सामग्री भन्सारबाट छुटाउन राजश्व लाग्ने भन्दै विभिन्न बैकहरुको खाता नम्बर दिएर विभिन्न व्यक्तिहरुबाट रकम ठगी गर्ने झापा अर्जुनधारा-९ का २९ वर्षीय पंकज पौडेली विक पक्राउ परेका हुन् ।

पौडेलीले अनलाइनको माध्यमबाट ठगी गरेको भनी महानगरीय अपराध महाशाखा काठमाडौंमा ठगी मुद्दा दर्ता भएसँगै खोजतलासमा खटिएको इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-२ बाट उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका पौडेलीको साथबाट नगद ३ लाख ५६ हजार ७ सय १० रुपैयाँ र उनको घरकोठामा रहेको दराज भित्रबाट २ लाख ८ हजार २ सय रुपैयाँ र घर पछाडिको गाई ग्वाली छेउमा रहेको गोवरको थुप्रो भित्र झोलामा प्याकिङ गरी गाडिएको अवस्थामा ८ लाख३ ० हजार ३ सय ५ रुपैयाँ गरी जम्मा १३ लाख ९५ हजार २ सय १५ रुपैयाँ नगद बरामद भएको छ ।

यसैगरी पौडेलीको नाममा दर्ता कायम रहेको सवारी दर्ता किताब १ थान, विनोद काफ्लेको नामको सवारी चालक अनुमति पत्र १ थान, अनिल बस्नेतको नामको सवारी चालक अनुमति पत्रको प्रतिलिपी, पंकज पौडेलीको नामको नागरिकताको प्रतिलिपी १ थान र सिमसहितको २ थान मोबाइल बरामद भएको छ ।

ठगीको आरोपमा पक्राउ परेका पौडेलीलाई थप अनुसन्धानका लागि महानगरीय अपराध महाशाखा मिनभवन काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...