कोभिड प्रभावित पत्रकारका लागि राहत प्याकेज ल्याउने सञ्चारमन्त्रीको घोषणा

131

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड प्रभावित श्रमजीवि पत्रकाहरुलाई राहत प्याकेज ल्याउने घोषणा गरेका छन् ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले त्यसका लागि आवश्यक सुझाव दिन नेपाल पत्रकार महासंघसहित सरोकारवाला निकायलाई आग्रह समेत गरेका छन् । ‘कोभिड प्रभावित सञ्चारगृह र श्रमजीवि पत्रकारहरुलाई तत्काल राहत दिनका लागि आवश्यक सुझाव दिन म पत्रकार र पत्रकारहरुको संघ, संगठन सबैलाई आग्रह गर्दछु,’ मन्त्री गुरुङले भने, ‘सरोकारवाला निकायले दिएको सुुझावको आधारमा सरकारले राहत कार्यक्रम ल्याउनेछ ।’

मन्त्री गुरुङले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे मन्त्रालयलाई सुझाव दिन सरोकारवाला निकायलाई आग्रह समेत गरे । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्धारा आइतबार काठमाडौंमा आयोजित ‘आम सञ्चार र श्रमजीवि पत्रकारः नीति, कार्यक्रम र बजेट’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे समयमै सुुझाव दिन आग्रह गरेका हुन् ।

उनले पत्रकारहरुले आफ्नो आचारसंहिता पालना गर्ने कामलाई प्रभावकारी बनाउने उपायको विषयमा मन्त्रालयले सरोकारवाला निकायबाट सुझावको अपेक्षा गरेको पनि स्पष्ट पारे । उनले सरकार प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...